८ बैशाख २०८१, शनिबार

सर्वदलीय बैठक बस्दै प्रदेशको नामकरणबारे छलफल गर्न

province 1 pp 768x427 1

प्रदेश १ सरकारले नामकरणका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरिएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजेपछि हुने छलफलमा प्रदेशका ५ पार्टीका नेताहरुको सहभागिता रहनेछ।

६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि प्रदेश १ को नामकरण भने थाँती रहेको छ । प्रदेश संसद गठन भएको ४ वर्ष बितिसक्दा पनि नामकरणको टुंगो लाग्न सकेको छैन ।

प्रदेश १ को नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच सहमति हुने सम्भावना कमजोर छ । यद्यपि आजको बैठकबाट छलफलको औपचारिक शुरुवात हुने प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बताउनुभयो।

जनता समाजवादी पार्टीका यादव प्रदेशको नामकरणका लागि सरकारले गठन गरेको समन्वय र वार्ता समितिका संयोजक पनि हुन् ।

प्रदेश १ मा गठन भएका यसअघिका सरकारमध्ये शेरधन राई नेतृत्वको सरकारले पटक–पटक नामकरणको विषयमा छलफल गरेको थियो । त्यसपछि बनेको भीमप्रसाद आचार्यको सरकारले नामकरणको विषयमा छलफल नै गरेको थिएन ।