१५ चैत्र २०८०, बिहीबार

नेपाललाई बलिङ र ब्याटिङ दुबैमा सन्तुलन राख्न चुनौती

cricket

ओमानमा शुक्रबारदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपमा छनोट हुनका लागि नेपाल घरेलु टोली ओमानविरुद्ध सुखत नतिजा निकाल्ने लक्ष्यमा छ ।

नेपालका प्रशिक्षक पुबुदु दसानायलेले टोली छनोट खेलका लागि तयार भएको बताउनु भएको छ । ‘हामीले घाइते खेलाडीको स्थानमा राम्रो खेलाडी राखिसकेका छौँ । ब्याटिङको समस्या विस्तारै समाधान भएको छ । फास्ट बलरको अवस्था पनि ठिक छ । समग्रमा टोलीको तयारी राम्रो छ । हामी उत्कृष्ट प्रदर्शन गर्नेछौँ,’ पुबुदुले भन्नुभएको छ ।

कप्तान सन्दीप लामिछानेले टोलीको अवस्था र प्रदर्शन हेर्दा विश्वकप छनोट हुने दावी गर्नुभएको छ । ‘हामीले विश्वकप छनोट हुने लक्ष्यका साथ आएका छौँ । अघिल्ला खेल हेर्दा सक्षम छौँ ।
बलिङ, फिल्डिङ र ब्याचटिङमा विस्तारै सुधार गरेका छौँ । हामीले मैदानको अवस्था पनि बुझेका छौँ । हामी सबैको एउटै लक्ष्य विश्वकपमा छनोट हुनु नै हौ,’ सन्दीपले भन्नुभयो ।

एक महिना तयारी गरेर ओमान पुगेको नेपाली क्रिकेट टोलीले ओमानमा चार देश सम्मिलित टी–२० सिरिज समेत खेलेको थियो । सिरिजमा नेपालले एक खेलमात्र जितेको थियो । नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । नेपाल युएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।

विश्वकपमा छनोट हुन नेपाललाई सिरिजमा देखिएको कमजोरीलाई सुधार गर्नुपर्ने आवश्यकता छ । युएईविरुद्ध बलिङमा चुकेको नेपाल, आयरल्यान्डविरुद्ध ब्याटिङमा चुकेको थियो । त्यसैले नेपाललाई बलिङ र ब्याटिङ दुवैमा सन्तुलित बनाउनुपर्ने चुनौती छ । नेपालले छनोटको दोस्रो खेलमा शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जितेर फाइनलमा पुग्ने टोलीले यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ । प्रशिक्षक नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक पुबुदु दासानायेके र राष्ट्रिय क्रिकेट टिमको छनोट समितिको सिफारिसमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

सिरिजपछि टोलीमा करण केसीको स्थानमा मौका पाउनुभएका गुलशन झा बिहीबार नै ओमान जानुभएको छ । करण ढाडको समस्याका कारण खेल्न नसक्ने भएपछि टोलीबाट बाहिरिनुभएको हो । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो ।

नेपाली टोली :

कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलसन झा ।