५ जेष्ठ २०८१, शनिबार

स्थानीय तह निर्वाचन नमूना बनाऔँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

dinesh thapaliya

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न, निर्वाचन प्रति आम मतदातालाई उत्प्रेरित गर्न, सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चार वटै सार्वजनिक सञ्चार माध्यम र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रमुखसँग आयोगले आज गरेको छलफलमा प्रमुख आयुक्त थपलियाले सञ्चार माध्यमले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र बनाउन तथा निर्वाचनमा मतदाताको सहभागिता बढाउने समाचार एवं सामग्री प्रसारण गर्नु पर्ने बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालको बढ्दो प्रयोगको व्यवस्थापन र उपयोग गर्ने सन्दर्भमा आयोगले नेपाल दूरसञ्चार प्राधिकरणसँग सहकार्य गर्ने जानकारी दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले आयोगले गलत, भ्रामक र मिथ्या समाचारको प्रयोग रोक्न निर्वाचनमा सामाजिक सञ्जालको उपयोगको विषयलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

निर्वाचन आयोगका दैनिक गतिविधिहरू जानकारी गराउने उद्देश्यले आगामी फागुन १ गतेदेखि हरेक दिन अपराह्न ४ः०० बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने आयोगले जनाएको छ ।

छलफलमा रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, प्रेस काउन्सिल, विज्ञापन बोर्डलगायतका प्रमुख र प्रतिनिधिले आ–आफ्ना संस्थाबाट प्रदान गरिँदै आएका विविध सेवा र साधन स्रोतबारे जानकारी दिँदै राष्ट्रकै प्राथमिकतामा रहेको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन कर्तव्य र दायित्वलाई हर सम्भव पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।