१४ बैशाख २०८१, शुक्रबार

लिमीमा दुई हप्तादेखि सञ्चारविच्छेद

humla namkha

हुम्लाको उत्तरी उच्च भागमा अवस्थित नाम्खा गाउँपालिकाको वडा ६ लिमी दुई हप्तादेखि सञ्चार सम्पर्कमा जोडिन सकेको छैन । वडा नं ६ लिमीमा रहेको वल्र्डलिङ्क कम्युनिकेशनले काम नगरेपछि सेवा प्रवाहमा समस्या भएका हो ।

करिब दुई हप्तादेखि उक्त इन्टरनेटले काम नगरेपछि यस क्षेत्रका स्थानीय सेवाग्राही मर्कामा पर्दै आएको वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।

वल्र्डलिङ्क कम्युनिकेशनले काम नगर्दा वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत बन्द भएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । इन्टरनेट सेवामार्फत हुने विभिन्न काम इन्टरनेटमा खराबी आएपछि प्रभावित भएको छ ।

नाम्खामा गत बिहीबार र शुक्रबार भारी हिमपात भएका कारण इन्टरनेटले काम गर्न छाडेको हुनसक्ने अध्यक्ष तामाङको भनाइ छ । बाक्लो हिमपातका कारण इन्टरनेट सञ्चालनमा नआएपछि इमेल, भाइवर, फेसबुक, वाटसप र विथच्याटबाट हुने कामसमेत प्रभावित भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

जिल्लाको सबैभन्दा बाक्लो र बढी हिमपात हुने क्षेत्र उक्त गाउँपालिका भएकाले पनि सदरमुकाम सिमकोटबाट इन्टरनेट मर्मतका लागि प्राविधिक टोली खटिन समस्या भएको अध्यक्ष तामाङले बताउनुभयो ।