१५ बैशाख २०८१, शनिबार

दलहरूद्वारा स्वागत वैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारकाे निर्णयकाे

elec

सरकारले आगामी आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैपटक गर्ने निर्णय गरेसँग दलहरूले यसकाे स्वागत गरेका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीचमा जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको थियो ।

तथापि, विगतदेखि नै संविधान बमोजिम वैखाशभित्र स्थानीय तहको निर्वाचन गर्ने भनिए अनुरुप सोमबारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ । यससँगै सबैजसो दलहरु आगामी चुनावी प्रतिस्पर्धामा भाग लिने मनस्थितिमा छन् ।

पाँच दलको गठबन्धनको सरकारको यस निर्णय सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले पनि स्वागतयोग्य रहको प्रतिक्रिया दिएका छन् । ‘मिति घोषणा गर्नुपर्छ भनेर हाम्राे पार्टीले अनुमति दिएकै हो । त्यही घोषणा भएको मितिमा प्रतिस्पर्धामा अघि बढ्नुपर्छ ।’, एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

वैशाख ३० गते स्थानीय तहको चुनाव मिति घोषणा गरेर सरकारले राम्रो गरेको खतिवडाको भनाई छ । पछिल्लो समय प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति रहेको थिएन ।

तर, यस छलफलको भोलिपल्टै सरकारले चुनावको मिति घोषणा ग-यो । ती शीर्ष नेताहरुको छलफलमा नेपालको सहभागीता नरहेकोप्रति पनि यसलाई सामान्य एवम् स्वभाविक रहेको उहाँको बुझाइ छ । यसबाहेक चुनावबारे पार्टीको फरक दृष्टिकोण नरहेको पनि उहाँले बताउनुभएको छ ।

यस्तै, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पनि चुनावको मिति घोषणा हुनुलाई स्वभाविकरुपमा लिइनुपर्ने प्रतिक्रिया दिनुभएको छ । अब, घोषणा भएको मितिमा प्रतिस्पर्धामा जानुपर्ने र वैशाख ३० मा नै चुनाव हुने उहाँको भनाई छ ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेता शेरबहादुर तामाङले पनि स्थानीय तहको चुनावको मिति वैशखभन्दा पर सार्ने कुरा कानुन बमोजिम नभएकोले वैशाख ३० गते घएको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभएको छ ।

‘निर्वाचनको मिति पर लाने कुरा मिल्दैनथ्यो । अब, सत्ता गठबन्धन रहन्छ कि रहदैन, यो हेर्न बाँकी छ । गठबन्धनसहित दलहरु आएमा भने एक्लै लड्ने आँट छैन भन्ने हामी बुझ्छौं । अरु कुनै दल एमालेसँगमिलेर चुनाव लड्छ भने पनि यो स्वीकार्य छ ।’, तामाङले बताउनुभयो । तर, पाँच वर्षसम्म अर्कै एजेण्डा बोक्ने र चुनावको बेला चुनावमा गठबन्धन गर्ने कुरा भने लोकतान्त्रिक नहुने उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप) का नेता भुवन पाठक पनि स्थानीय तहको निर्वाच्न वैशाख ३० मा घोषणा हुनु सकारात्मक र स्वागतयोग्य भएको बताउनुहुन्छ । ‘यो एकदमै राम्रो कुरा हो । बीचमा निर्वाचन नहोला र मिति सर्ने भन्ने लगायत संवैधानिक कुराहरुको अन्यौलता थियो । मिति घोषणासँगै यो अन्यौलता टरेको छ ।’, पाठकले बताउनुभयो ।

राप्रपाको केन्द्रीय समितिले बैठकले पाठककै संयोजकत्वमा स्थानीय निकाय निर्वाचन तयारी समिति गठन गरिसकेको अवस्था छ, उहाँ बताउनुहुन्छ । सरकारले चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले भने चुनावको तयारी थप तीव्र पारेको जनाइएको छ ।

यसअघि संविधान र स्थानीय तहको निर्वाचन सम्बन्धि ऐन, २०७३ बाझिएको र यसलाई संविधान बमोजिम संशोधन गर्न सरकारले कानुनविद्हरुसँग पनि परामर्श लिएको थियो । यसपश्चात् समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष ओली पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नुभएको थियो ।

अब भने, राजनीतिक दलहरु आगामी स्थानीय तहको निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा जुट्ने देखिन्छन् ।