१६ चैत्र २०८०, शुक्रबार

आयातमै निर्भर गुलाफकाे फूल

flower rose

हरेक वर्षको फेब्रुअरी ७ तारिकदेखि १४ तारिकसम्म मनाइने भ्यालेनटाइन साता आजदेखि शुरु भएको छ । एक सातासम्म मनाइने भ्यालेनताइन डेका लागि २ करोड रुपैयाँभन्दा बढी गुलाफको फूल आयात भएकाे देखिएकाे छ ।

भ्यालेनटाइन साता शुरु भए लगतै बजारमा फूल र उपहारजन्य सामग्रीको माग बढेको छ । हरेक वर्ष फेब्रुअरी महिनामा पर्ने भ्यालेनटाइन साता पछिल्लो समय नेपालमा पनि युवा माँझ लोकप्रिय बन्दै गएको छ ।

युवा वर्गले याे दिन आफ्नी प्रेमिकालाई गुलाफको फूल दिएर मनाउने गर्दछन् । प्रणय दिवसमा प्रेमकाे प्रतीककाे रूपमा गुलाफको फूल दिएर मनाइने गरिएकाे हाे ।

साताको पहिलाे दिन ‘रोज डे’ गुलाफको फूल दिएर शुरु हुने हुदाँ बजारमा गुलाफको फूलको बिक्री राम्रो हुने गरेको देखिन्छ । यस वर्ष पनि एक सातासम्म मनाइने भ्यालेनटाइन डेका लागि ९० प्रतिशत गुलाफ भारतबाट आयात भएको पाइएकाे छ । नेपालको उत्पादन १० प्रतिशत मात्र भएको र माग धेरै भएकाले आन्तरिक उत्पादनभन्दा आयात धेरै भएको व्यवसायी बताउँछन् ।

माग धेरै हुने भएकाले प्रतिपिस ५० रुपैयाँमा पाइने गुलाफ एक सयदेखि १५० रुपैयाँसम्ममा बिक्री हुने गरेको व्यवसायीकाे भनाइ छ । प्रेम दिवसलाई लक्षित गरेर हरेक वर्ष भारतबाट करोडौं रुपैयाँको गुलाफको फूल आयात हुने गरेको छ ।

यो वर्ष भ्यालेन्टाइन डेका लागि करिब २ लाख ३० हजार पिस स्टिम गुलाफ नेपाल भित्रिएको तथ्यांकले देखाएकाे छ । गत वर्षको तुलनामा यस वर्ष फूलको माग बढेको फ्लोरिकल्चर एसोसियसन नेपालका महासचिव विश्वमणि पाेखरेलले जानकारी दिनुभयाे ।

गत वर्ष भ्यालेन्टाइनमा एक लाख ८० हजार गुलाफको माग थियो । जसमा ४० हजार पिस स्वदेशी उत्पादन थियो भने एक लाख ४० हजार पिस भारतबाट आयात गरिएको थियो । यस वर्ष २ करोड रुपैयाँभन्दा बढीको गुलाफ फूलको कारोबार हुने अनुमान गरिएको पाेखरेलकाे भनाइ छ ।

भ्यालेन्टाइन डे जाडोयाममा पर्ने हुँदा चिसोका बेला तापक्रमको व्यवस्थापन मिलाउन नसक्दा फूल उत्पादन घट्ने गर्छ । तर यस वर्ष कोभिड संक्रमणका कारण धेरै किसान तथा व्यवसायीहरुले राम्रो उत्पादन गर्न नसक्दा स्वदेशी उत्पादन १० प्रतिशतमा कायम रहेको महासचिव पाेखरेलले बताउनुभयाे ।

यस दिनप्रति यूवाहरुको आर्कषण दिन प्रतिदिन बढ्ने क्रममा रहेकाले गुलाफकाे फूलकाे पनि माग बढ्ने देखिन्छ । साताभरी नै एक अर्कालाई गुलाफकाे फूलका साथै विभिन्न उपहार दिएर मानिने हुँदा अन्य समयमा भन्दा यस साता फूल तथा उपहारजन्य सामग्री धेरै बिक्री हुने गरेको व्यवसायीले बताएका छन् ।

फूलको गुणस्तर अनुसार मूल्य फरक हुने गरेको छ । यस वर्ष गुलाफको मूल्य गत वर्षको हाराहारीमा छ । अघिल्ले वर्ष गुलाफको फूलको मूल्य प्रति फूल २० रुपैयाँ बढेको तर यस वर्ष मूल्यमा वृद्धि नभएकाे पनि व्यवसायीकाे भनाइ छ ।

मौसमी फूलहरूको खेती बढे पनि भ्यालेन्टाइन डेमा बिक्री हुने गुलाफ उत्पादनमा नेपाली कृषकको क्षमता नबढेको एसोसियसनले बताएको छ ।