
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगदान, क्षमता र दक्षताका आधारमा आसन्न निर्वाचनका लागि कांग्रेसले उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको आइतवार पोखरामा उद्घाटन गर्दै उहाँले पार्टीमा मेरो वा तेरो नभनी योगदान, क्षमता र दक्षताको पहिचान गर्ने गरी उम्मेदवार पहिचानको अभियान थाल्न आग्रह गर्नुभयो ।
दलहरुबीचको गठबन्धनबारे पार्टीको स्पष्ट धारणा हुनुपर्नेमा जोड दिँदै नेता पौडेलले चुनाव लड्नका लागि नभई जित्नका लागि हुनुपर्ने भएकाले पार्टी सङ्गठनको विद्यमान अवस्थासमेतलाई दृष्टिगत गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गण्डकी प्रदेशलाई कृषि, पर्यटन र ऊर्जाका माध्यमबाट समृद्ध बनाउन सकिने जनाउँदै उहाँले यसको उपयोग गर्न नसकिएको बताउनुभयो । गण्डकीले राज्यलाई धेरै योगदान दिए पनि राज्यबाट विशेष सहुलियत पाउन नसकेको उल्लेख गर्दै उहाँले हामी आफैँमा एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिका कारण पनि स्वयं बाधक भएको हुनसक्नेमा जोड दिनुभयो । एमसिसी जस्ता विषयमा जनतालाई स्पष्ट पार्न यथार्थता बुझाउनुपर्ने उहाँको भनाइ छ ।
सङ्घीय संरचनाअनुसार बनेको पार्टीको प्रादेशिक समितिले कार्यालय स्थापना गरी आफ्नो काम थाल्नु प्रशंसनीय भएको बताउँदै पौडेलले आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी सङ्गठन मजबुद बनाउने गरी लाग्न आग्रह गर्नुभयो ।