१४ बैशाख २०८१, शुक्रबार

प्रम देउवासँग मिलेर एमसिसीलाई पत्र लेखेको हो: प्रचण्ड

prachanda IRyjsLNp44
फाइल फोटो

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका छन् ।

आइतबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको बैठकका क्रममा उनले आफूले प्रधानमन्त्री देउवासँग मिलेर एमसिसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका हुन् ।

सत्तापक्षले एमसिसी मुख्यालयमा केही समय पर्खन अनुरोध गर्दै पठाएको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सत्तापक्षले पत्रबारे गुपचुप राख्न खोजे पनि पत्र बाहिरिएको थियो ।

गोप्यरुपमा पत्र पठाएको भन्दै पत्रबारे आलोचना भइरहँदा प्रचण्डले त्यसलाई स्वीकार गरेका हुन् । आइतबार बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रचण्डले आफूले पत्र लेखेको छैन भनेर नभनेको स्वीकार गरेको बताए ।

बैठकमा एमसिसीमा सहयोग गर्न प्रधानमन्त्री देउवाले एमालेलाई आग्रह गरेका थिए भने प्रचण्डले राष्ट्रिय मुद्दामा समान धारणा बनाएर अघि बढ्न आग्रह गरेका थिए । संवेदनशील मामिलामा सत्ता गठबन्धनको एउटै दृष्टिकोण हुनुपर्ने कुरा एमालेले राखेको महासचिव पोखरेलले बताए ।