१८ बैशाख २०८१, मंगलवार

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप १ साता लम्ब्याउने तयारी

ministry meeting corona

कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि थप रणनीति बनाउन मन्त्रिपरिषद्को बैठक बस्दैछ।

सोमवार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । उक्त बैठकले लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ ।

कोभिड-१९ को अहिलेको अवस्था र अब अपनाउनुपर्ने सजगतालगायत विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आजको मन्त्रिपरिषद् बैठक संक्रमण फैलन नदिन लकडाउनको अवस्था, रोकथाम र उपचारका लागि भइरहेका तयारी तथा सरकारको आगामी कार्ययोजनामा केन्द्रित हुने स्रोतले जानकारी दियो।

आजको बैठकले नै लकडाउन लम्बाउने कि के गर्ने भन्‍ने विषयमा पनि निर्णय गर्नेछ। बालुवाटार स्रोतका अनुसार जनस्तरबाटै लकडाउन अझै केही दिन लम्बाउनुपर्ने आवाज उठेकाले सरकारले अझै केही दिन थप्‍न सक्नेछ।

त्यस्तै त्यहि अनुसार सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि १८ गतेसम्मका लागि लकडाउन गरेको थियो । त्यस्तै कोरोना जोखिम थप नहोस भन्नका लागि सरकारले पुनः गत चैत १६ गतेबाट २५ गतेसम्मका लागि लकडाउन थप गरेको थियो ।

यस अघि बिहीवार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने लगायतका निर्णयहरु गरेको थियो ।

२२ चैतको बैठकले एक प्रदेशदेखि अर्को, एक जिल्लाबाट अर्को र एक स्थानीय तहदेखि अर्को स्थानीय तहसम्मको आवागमनमा नियन्त्रण गर्ने निर्णय गरेको थियो।

सुदूरपश्‍चिम प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पनि लक डाउन लम्बाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले गरिरहेको कामका बारेमा पनि आजको मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ।

हालसम्म नेपालमा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । शनिवार एकैदिन ३ जनामा कोरोना संक्रमण देखिएसँगै थप बैशाख ३ गतेसम्म लकडाउन थपिन सकिने स्रोतले जनाएको छ ।