१४ बैशाख २०८१, शुक्रबार

अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृत फिर्ता, भिजिट भिसामा सेटिङ गरेको आशंका

ministar home

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृतलाई फिर्ता बोलाएको छ।

पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरुलाई सेटिङ गरेको अभियोगमा अध्यागमन कार्यालयमा कार्यरत ती अधिकृतलाई मन्त्रालयले विहीवार फिर्ता बोलाउने निर्णय गरेको हो ।

उनीहरुले मानव तस्करलाई सहयोग गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई विमानस्थल अध्यागमन कार्यालयबाट हटाएको मन्त्रालय स्रोतले जनाएको छ ।

अध्यागमन कार्यालयबाट फिर्ता हुने अधिकृतहरुमा पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्रकुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दिपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यमबहादुर भट्टराई छन्।

मानव तस्करसँगको मिलेमतोमा सर्वसाधारणलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुक पठाउन अध्यागमनमा सेटिङ मिलाउने गरेको उनीहरुमाथि आरोप छ। आरोपित कर्मचारीहरुले म्यानपावर व्यवसायी र सम्बन्धित एयरलाइन्सको सेटिङमा काम गरेका थिए। फिर्ता गर्ने निर्णयसँगै गृह मन्त्रालयले उनीहरुमाथि अनुसन्धान सुरु गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीहरुको गतिविधिमाथि निगरानी गरिरहेको स्रोतले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ भएको गुनासो आएपछि केही दिनअघि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले स्थलगत अनुगमन गर्नुभएको थियो ।

गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलक गई विभिन्न सर्वसाधारणले कठिनाइ भोगिरहेको स्थितिको विश्लेषण गरी ठोस योजना पेस गर्न सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा अध्ययन समिति समेत गठन गरेको छ।