१५ चैत्र २०८०, बिहीबार

दोब्बर बाघको संख्या, बर्दिया राष्ट्रिय निकुञ्जले पायो महत्वपूर्ण पुरस्कार

tiger1
फाइल फोटो

बाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफबाट महत्त्वपूर्ण पुरस्कार पाएको छ ।

भारतको सत्यमङ्गलम् टाइगर रिजर्भले पनि बाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया निकुञ्जसँगै पुरस्कार जितेको छ । सन् २०१० यता जङ्गली पाटेबाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्सटु पुरस्कार पाएको हो ।

बाघ संरक्षणको उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिएको डब्ल्यूडब्ल्यूएफ नेपालले जनाएको छ ।

खाता संरक्षण क्षेत्रले नेपाल–भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ । यो पुरस्कार यसै वर्षको सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक सहरमा हुने बाघ संरक्षणसम्बन्धी समारोहमा प्रदान गरिनेछ ।

सन् २००९ मा बर्दियामा बाघको सङ्ख्या २० भन्दा थोरै रहेकोमा सन् २०१८ मा बढेर झन्डै ९० को हाराहारीमा पुगेको छ ।

यस्तै भारतको सत्यमङ्गलम् टाइगर रिजर्भमा सन् २०११ मा २५ वटा बाघ रहेकोमा अहिले बढेर ८० को हाराहारीमा पुगेको डब्ल्यूडब्ल्यूएफले जनाएको छ ।