१४ बैशाख २०८१, शुक्रबार

दलहरु उदासिन कोरोना रोकथाममा

Dauba prachand madhav and upendra 1024x416 1
फाइल फोटो

राजनीतिक दलहरुले देशमा संकट हुँदा जनताको साथमा आफूलाई उभ्याउने बताउँदै आएका छन् । अहिले कोरोना महामारीले देश आक्रान्त छ । तर, राजनीतिक दलका नेता–कार्यकर्ता दृश्यमा कतै देखिएका छैनन् ।

महामारी शुरु हुँदै एमाले, कांग्रेस, माओवादी केन्द्र लगायतका दलले संकटमा आफ्ना नेता–कार्यकर्ता परिचालन गर्ने घोषणा नै गरेका थिए । आपतविपदका बेला सहयोग गर्ने, नेता कार्यकर्ता खटाउने उद्घोष गरे पनि माउ पार्टीसँगै भातृ संगठन पनि उदासिन बनेका छन् ।

यतिबेला कोरोना महामारीको चौतर्फी चपेटामा आम नागरिक पिल्सिएका छन् । सरकारका पछिल्ला निर्णयबाट कोरोनाको तेस्रो लहरसँग जुधिरहेका नागरिक झनै प्रताडित छन् । महामारी नियन्त्रण गर्ने नाममा जोर–बिजोर प्रणाली लागू गर्ने र खोपको असहजताले समस्या उत्पन्न गरेको छ ।

यस्तो बेला जनतालाई साथ दिन कुनै राजनीतिक दलहरु तयार देखिएका छैनन् । दैनिकी गुजार्न मजदूरी गर्ने नागरिकको साथमा कोही छैनन् । काम नपाएर बसेका मजदूरहरुलाई साथ दिन कुनै दल तयार देखिदैनन । बरु खोप मात्र लगाउन ताकेता गरिदैछ । त्यही खोपको सहजताका लागि कोहि बोल्दैनन् ।

बिहान बेलुका छाक टार्न धौ धौ पर्ने जनताका नाउँमा नत सरकारले कुनै राहतको व्यबस्थापन गर्न सकेको छ नत त्यसका आवद्ध भातृ संगठन सहयोगमा जुटेका छन् ।

नागरिका हरेक समस्यामा साथ दिने राजनीतिक दल र त्यसका भातृ संघसंगठन गुमनाम बनेका छन् । जनताका घरघरमा राहत बोकेर पुग्नुपर्ने समयमा संगठनहरु आफै नुन खाएको कुखुरा झैं झोक्राइरहेका छन् ।

कार्यकर्ताले नेतृत्व पंक्तिलाई जोगाउने, प्रदेश र स्थानीय सरकार भूमिकाबाट पन्छिने गर्दा जनता थप मारमा परेका छन् । सत्तारुढ र प्रतिपक्षी दलहरु एक–अर्कालाई आरोप लगाउँदै पन्छिने गरेका छन् ।

आफैंले गरेका घोषणा कार्यान्वयनमा तदारुकता देखाउन नसक्ने दलहरुलाई दोषारोपण गरेर उम्किने छुट छैन । काम गर्न तमतयार रहेका कार्यकर्ता नेतृत्वलाई झकझकाउन आनाकानी गरिरहेका छन् । चुनावका बेला ठुलाठुला भाषणबाजी गर्ने तर जनतालाई दुःख परेका बेला साथ नदिने हो भने उनीहरुले चुनावका बेला जनतासामू खाएका बाचा कसमले धिकार्नेछ ।