१४ बैशाख २०८१, शुक्रबार

बैतडीमा बालुवा निकाल्ने क्रममा दुई मजदुरको निधन, प्रहरीलाई जानकारी दिइएन

Baluwa Death

बैतडीको डिलाशैनी गाउँपालिका-२ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरको निधन भएको छ ।

गत शुक्रबार खानीबाट बालुवा निकाल्ने क्रममा च्यापिएर ३६ वर्षीया तारा लुहार र ३८ वर्षीया महना लुहारको ज्यान गएका उनीहरुका नातेदार रमेश लुहारले जानकारी दिए । अमर बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको निर्माणाधीन नहरका लागि बालुवा निकाल्ने क्रममा घटना भएको हो ।

तर, घटना भने लामो समयसम्म गुपचुप राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाका अनुसार चार दिन अघिको घटनाबारे प्रहरीलाई जानकारी दिइएको छैन । घटना गत शुक्रबार भए पनि सामाजिक सञ्जालमा विवरण आएपछि मात्र स्थानीय जनप्रतिनिधिले जानकारी पाएका हुन् ।

डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल बहादुर रानाले पालिकाबाट दुवै मृतकका परिवारलाई राहत प्रदान गरिने बताए । मृतकको आश्रित परिवारको आर्थिक अवस्था निकै दयनीय रहेकाले राहतका लागि सामाजिक सञ्जाल मार्फत आग्रह गरिएको छ । मृतक महनाका श्रीमान, तीन छोरा, एक छोरी र एक बुहारी छन् भने, ताराका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।