
मकवानपुर प्रहरीले शनिबार ओभर लोड बोकेको भन्दै १०२ वटा टिपरलाई कारबाही गरेको छ । शुक्रवार ९७ वटा टिपरलाई कारबाही गरेको प्रहरीले शनिबार १०२ वटा टिपरलाई कारबाही गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा–११ थाना भर्याङ, हेटौँडा–१५, रातोमाटे र ६ चौघडा, मनहरी र भीमफेदी गाउँपालिकामा चेकजाँच गरेको थियो ।
चेकजाँच गर्दा ओभर लोड बोकेको टिपरलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
टिपरले ओभर लोड बोक्ने आम गुनासोका आधारमा प्रहरीले सक्रियता देखाएको हो । हेटौँडामा रहेको शिवम, ऋद्धिसिद्धी र हेटौँडा सिमेन्टका लागि आवश्यक ढुङ्गा बोक्ने टिपरले विशेष गरी ओभर लोड बोक्ने गरेको स्थानीयको गुनासो छ ।