१४ बैशाख २०८१, शुक्रबार

एक कार्यालयका दुई प्रमुख,कहीँ नभएको जात्रा औषधि व्यवस्था विभागमा

Capture 9

कुनै पनि सरकारी कार्यालय वा निकायमा एक जना मात्रै महानिर्देशक हुने व्यवस्था छ । तर काहीँ नभएको जात्रा औषधि व्यवस्था विभागमा देखिएको छ ।

साविकका महानिर्देशकले कुर्सी नछाडेपछि हाल सरुवा भएर आएका सहित विभागमा दुई जना महानिर्देशक छन् । यी दुई महानिर्देशकले के गरिरहेका छन् त ?

गत मंगलबार मन्त्रीस्तरीय निर्णयले औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई सुम्पियो । तत्कालीन महानिर्देशक नारायण ढकाल राष्ट्रिय प्रयोगशाला प्रमुखमा सरुवा हुनुभयो ।

तर सरुवा भइसकेका महानिर्देशक ढकालले कुर्सी नछोडेपछि हालै सरुवा भएर आएका महानिर्देशक भट्टराईसहित विभागमा दुई जना महानिर्देशक छन् । हालै सरुवा भएका महानिर्देशक भट्टराईको भने कार्यलयमा हाजिर गर्ने र बाहिरिने दिनचर्या बनेको छ ।

ढकालले ४ महिनादेखि विभागको महानिर्देशकको जिम्मेवारी समाल्दै आउनुभएको छ । अहिले सरकारले उहाँलाई राष्ट्रिय प्रयोगशाला प्रमुखमा सरुवा गरेको छ ।

आश्चर्यको कुरा त के छ भने नयाँ महानिर्देशक भट्टराई आएर हाजिर गर्न नपाउँदै ढकाल बिहानै कार्यालय पुगिसक्नु हुन्छ । र हाजिर लगाएर महानिर्देशकको कुर्सीमा बस्नु हुन्छ । कानूनविपरीत सरुवा गरिएको भन्दै आफूले विभाग नछोडेको ढकालको तर्क छ ।

सरकारले महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई सुम्पिए पनि काम गर्न पाउनुभएको छैन । ढकालले कुर्सी नछोड्दा अरु कर्मचारीसमेत अन्योलमा परेका छन् । त्यसो त सरकारले गरेको निर्णय फेरबदल गर्न नसकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल बताउनुहुन्छ ।

कोरोना महामारी दिनानुदिन बढिरहेका बेला औषधि व्यवस्था विभाग जस्तो संवेदनशील निकायमा पदको लुछाचुँडी चलिरहेको छ । धेरै जीवनरक्षक औषधिसम्बन्धी फाइल दुईजनाको जुँगाको लडाइँले थन्किएर बसेका छन् ।

नागरिकले सित्तैमा पाउने सिटामोलदेखि भिटामिनसमेत पैसा तिरेर किन्नु परिरहेको छ । निर्देशक नियुक्त गरेर बसेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई विभागको तमासाले कुनै असर गरेको छैन ।

    सम्बन्धित समाचार...