१५ चैत्र २०८०, बिहीबार

समुन्द्री ज्वालामुखी विस्फोटनले टोङ्गामा भारी संकट, अत्यावश्यक सामाग्री पुर्याउने प्रयास जारी

Tonga Tapu

प्रशान्त महासागरमा रहेको एक टापु टोङ्गामा शनिवारको ज्वालामुखी विस्फोटनले भारी मात्रामा क्षति पुर्याएको छ । यसपछि उत्पन्न प्रतिकुल अवस्थामा अत्यावश्यक आपूर्ति सुरु गर्न कठिनाइ भैरहेको छ ।

यद्यपी सामान आपूर्ति गर्नका लागि गरिने प्रयासहरु निरन्तर रुपमा भैरहेका छन । अहिले त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको छ।

प्रशान्त महासागरमा रहेको टापु टोङ्गामा खाद्यान्न र पानी आउने आसमा झन्डै २०० मानिसहरू बेल्चा र सामान बोक्ने औजारहरूसाथ विमानस्थल सफा गरिरहेका छन्।

यस विपद्‌का कारण अहिलेसम्म त्यहाँ चार जनाको मृत्यु भैसकेको छ। जसमा तीनजना त्यहीँका नागरिक र एकजना ब्रिटिश महिला रहेका छन्। टोङ्गा सरकारले ज्वालामुखी विस्फोटनलाई ‘अभूतपूर्व विपद्भ’ को संज्ञा दिएको छ।

ज्वालामूखी विष्फोटनका क्रममा निस्किएको धुँवाधुलोको मुस्लो आकाशमा २० किलोमिटर माथिसम्म पुगेको टोङ्गा सरकारले जनाएको छ।

आज बिहानै टोङ्गामा उक्त क्षेत्रका लागि राष्ट्रसङ्घीय प्रतिनिधि जोनाथन भिचले मुख्य द्विप टोङ्गा टापुमा खरानी हटाउने काम सोचिएभन्दा निकै कठिन देखिएको बताएका छन्।

तर उनले राम्रो प्रगति भइरहेको भन्दै त्यहाँ छिट्टै हवाई उडानहरू सुरु हुनसक्ने जनाएका छन्। समुद्रमुनी तार रहेको उक्त टापुसँगको एउटा मात्र सञ्चार सञ्जालमा अवरोध पुग्दा विश्वसँग त्यस क्षेत्रको अधिकांश सम्पर्क टुटेको छ।

ती राष्ट्रसङ्घीय प्रतिनिधिले तत्कालै राहतका लागि न्यूजील्याण्ड र अस्ट्रेलियाले आफ्नो नौसेनाका पानीजहाज प्रयोग गरेकोमा उनीहरूको प्रशंसा गरेका छन्।

न्यूजील्याण्डले खाद्यान्न, पानी र स्वास्थ्य सामाग्रीकासाथ पठाएको पानीजहाज त्यहाँ पुग्न तीनदेखि चार दिनसम्म लाग्नसक्ने बताइएको छ।

टोङ्गाको जनसङ्ख्या झन्डै एक लाख छ । जहाँ १७० वटा टापुहरू सात लाख वर्ग किलोमिटरको क्षेत्रभित्र फैलिएका छन्। ७० प्रतिशत मानिसहरू एउटै टापुमा बस्छन् जहाँ निकै क्षति पुगेको ठानिएको बिबिसीले जनाएको छ।

    सम्बन्धित समाचार...