१४ बैशाख २०८१, शुक्रबार

उपत्यकामा एकै दिन थपिए २४ सय १९ संक्रमित

610b7d44763b6 covid kathmandu

उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ४१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट उपत्यकामा २ हजार ४१९ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा मात्रै ५२.१७ प्रतिशत संक्रमित पुष्टि भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँमा १५९१ , भक्तपुरमा १४२,ललितपुरमा ६८६ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म दुई लाख ६५ हजार ५६३ जनामा कोरोना पृष्टि भएको छ। जसमा दुई लाख ५४ हजार २५९ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या दुई हजार २४३ पुगेको छ। सक्रिय संक्रमित नौ हजार ६१ छन् ।

भक्तपुरमा अहिलेसम्म ३१ हजार ४५३ जनामा कोरोना पुष्टि भएको छ। जसमा २९ हजार ६४४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ४३८ पुगेको छ भने सक्रिय संक्रमित १३ सय ७१ जना रहेका छन्।

ललितपुरमा अहिलेसम्म ५३ हजार ५२१ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ५० हजार ४२८ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ७११ छ भने दुई हजार ३८२ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षणमा चार हजार ६३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ पुगेको छ ।

पछिल्लो समय थप ३५० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १६ हजार तीन पुगेको छ । सङ्क्रमणमुक्त हुनेदर ९६।१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । हालसम्म ११ हजार ६१७ जनाको सङ्क्रमणका कारण मृत्यु भइसकेकोे छ ।

मन्त्रालयका अनुसार ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, चितवन, भक्तपुर, कास्की र कैलाली रहेका छन् ।

यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासीपूर्व, बाँके र रुपन्देही रहेका छन् । नेपालमा सङ्क्रमणदर १७ प्रतिशत रहेको छ ।

हाल होमआइसोलेशनमा २० हजार ५३६, संस्थागत आइसोलेशनमा एक हजार ४८, आइसीयूमा ११९ र भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको छ ।

चार लाख बढीले लगाए खोप

विगत २४ घण्टामा चार लाख ३५ हजार १९३ जनाले खोप लगाएका छन् । हालसम्म पहिलो मात्रा एक करोड ५८ लाख १४ हजार ३८३ र पूर्णमात्रा एक करोड २० लाख ९९ हजार ८०५ जनाले लगाइसकेका छन् ।