१३ बैशाख २०८१, बिहीबार

झन् कमजोर विभाजनपश्चात एमालेमै बसेका नेताहरू !

cpn uml second gen neta
फाइल फोटो

नेकपा एमालेले पार्टी विभाजनपश्चात् ६ हजारभन्दा बढी प्रतिनिधि बोलाएर गत असोजमा विधान महाधिवेशन सम्पन्न गर्यो । वडा र पालिका अधिवेशन सकेर राष्ट्रिय महाधिवेशनसमेत सम्पन्न गरिसकेको नेकपा एमाले अहिले जिल्ला अधिवेशनमा छ ।

अध्यक्ष केपी शर्मा ओलीसँग दश बुँदे सहमति गरेर पार्टीमै बसेका नेताहरू एमालेको जिल्ला अधिवेशनमा झन् कमजोर देखिएका छन् ।

पार्टी एकता जोगाउने नाममा दश बुँदे सम्झौता गरेर एमालेमै बसेका नेताहरू पार्टीमा कमजोर देखिएका छन् । माधवकुमार नेपाल एमालेमै रहँदा उहाँको निकटमा रहेका नेताहरू अहिले चेपुवामा परेका छन् ।

एमालेको जारी जिल्ला अधिवेशनमा विभिन्न जिल्लाको परिणाम आइरहँदा अध्यक्ष ओलीकै दबदबा देखिएको छ । सहमतिमा नेतृत्व चयन भएको ठाउँमा त ओली पक्षधरकै एकलौटी छ नै निर्वाचनबाट नेतृत् चयन भएका जिल्लामासमेत दश बुँदे पक्षधर निकट उम्मेदवार पराजित भएका छन् ।

दशबुँदेकै कारण राष्ट्रिय महाधिवेशनमा समेत एक्लिएका दशबुँदे पक्षधर नेता घनश्याम भुसाल आफ्नै गृहजिल्लामा समेत कमजोर बन्नु भएको छ । पार्टीको उपमहासचिवमा भैसकेका स्थायी कमिटी सदस्य भुसाल गृहजिल्लामा कमजोर बन्नुभयो वा बनाइयो भन्ने विषयले चर्चा बटुलेको छ ।

एमालेका केही नेताले पार्टीमा गुट सकिएकाले यस्तो भएको दाबी गरे पनि सांगठनिक रुपमा दश बुँदे पक्षधरलेले आफ्नो समूह बलियो बनाउन नसकेकै कारण धेरैले साथ छाडेका छन् ।

अघिल्लो जिल्ला कमिटीमा करिब ४० प्रतिशतको हाराहारीमा भुसाल निकटका नेताहरु थिए । तर, अहिले रुपन्देहीमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेताहरू खिमलाल भट्टराई, लिला गिरी, नेत्र पन्थी, राधा ज्ञवालीलगायतका नेताका नजिकका व्यक्तिहरुको दबदबा देखिएको छ ।

त्यस्तै, एमाले अछामको अध्यक्षमा पनि भीम रावलका उम्मेदवारलाई अध्यक्ष ओलीपक्षका चन्द्रबहादुर बोहराले पराजित गर्नुभयो । त्यहाँ रावल पक्षका उम्मेद्वार प्रकाशबहादुर शाह पराजित हुनुभयो ।

पदाधिकारीमा पनि अर्को पक्षकै पल्लाभारी भएको छ । बरु माओवादी पृष्ठभूमिबाट एमालेमा रहेका नेताहरू पदाधिकारीमा विजयी हुँदा शुरु देखिकै एमालेमा रहेका नेताहरू पछि परेका छन् ।

दश बुँदेमध्येका एक सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङमा पनि उहाँ निकट उम्मेदवार अध्यक्षमा पराजित हुनुपर्यो । भट्टराईको समर्थन पाएका निवर्तमान अध्यक्ष बलबहादुर साम्सोहाङ संस्थापन पक्षका भुपेन्द्र थेबेसँग प्रतिष्पर्धामा पछाडि पर्नुपर्यो ।

यी उदाहरणले जिल्ला नेतृत्व चयनमा दशबुँदे पक्षधरका अधिकांश ठाउँमा किनारा लागेका छन् । आखिर एमालेभित्रै रहेका दश बुँदेवालालाई कार्यकर्ताले किन पत्याएनन् ? कि ओली रबैयामा कार्यकर्ता विचार बन्धक राख्न बाध्य भएका होलान् ?