२५ बैशाख २०८१, मंगलवार

तोकिएकै समयमा निर्वाचन गराउन आयोगलाई नेताहरूको सुझाव

Election Commission Nepal

आसन्न राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन लगायतका विषयमा निर्वाचन आयोग र विभिन्न राजनीतिक दलबीच आज आयोगको कार्यालय काठमाडौँमा छलफल भएको छ ।

आयोगले बोलाएको सर्वदलीय बैठकमा नेताहरूले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने सुझाव दिनुभएको छ ।

बैठकपछि संसारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेस नेता रमेश लेखकले आसन्न राष्ट्रियसभा निर्वाचनमा मतदान केन्द्र बढाउन सुझाव दिएको बताउनुभयो ।

नेता लेखकले स्थानीय तहको चुनावको हकमा भने सरकारले छलफल गरेर चाँडै निष्कर्षमा पुगोस् भन्ने धारणा राखेको जानकारी दिनुभयो ।

यस्तै, बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता विष्णु रिमालले तोकिएको समयमै निर्वाचन गर्नुपर्छ भन्ने आयोगको भनाइलाई आफूले समर्थन गरेको जानकारी दिनुभयो ।

नेता रिमालले छलफलमा संविधान र कानुनको व्यवस्थाबारे आयोगले स्पष्ट जानकारी गराएको भन्नुहुँदै वैशाखमा स्थानीय तहको चुनाव गराउन कुनै पनि कानुनले नरोक्ने सुझाव दिएको पनि बताउनुभयो ।

यस्तै बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचन, मतदाता नामावली सङ्कलन र आगामी स्थानीय निर्वाचनको कार्य तालिकाका विषयमा आयोगले आफ्नो प्रस्तुति राखेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा (पौडेल)ले जानकारी दिनुभयो ।

आयोगका प्रवक्ता पौडेलले रचनात्मक ढङ्गले दलका नेताहरूले सुझाव दिनुभएको भन्दै सुझावहरूका आधारमा निर्वाचन आयोगले सरकारसँग छलफल गर्ने पनि बताउनुभयो ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने धारणा राख्नुभएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।