२४ बैशाख २०८१, सोमबार

पार्टीमा अन्तर्घातलाई प्रश्रय दिनु हुँदैन: वरिष्ठ नेता पौडेल

Ramchandra Poudel
फाइल फोटो

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तर्घातलाई प्रश्रय दिन नहुने बताउनुभएको छ ।

कांग्रेस तनहुँ क्षेत्र नं १ को आज डुम्रेमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीको १४ औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

उहाँले विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग एकजुट भएर लड्नुको विकल्प नभएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले आफू कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको उल्लेख गर्दै जीवन रहेसम्म जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई लगायतले कांग्रेस एक ढिक्का हुनुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति श्याम मौरातीले पदस्थापन गर्नुभएको छ ।