२१ बैशाख २०८१, शुक्रबार

मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्च, दलका महाधिवेशनले बढ्यो कोरोना

maoist 1
फाइल फोटो

मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्च गतितर्फ अघि बढ्दै गएको छ । मुलुकका मुख्य राजनीतिक दलहरूका महाधिवेशन सकिएलगत्तै कोरोना महामारी बढ्दै गएको हो ।

पछिल्ला केही समययता विभिन्न राजनीतिक दलका सभा, सम्मेलन, बैठक तथा महाधिवेशन केन्द्रित गतिविधि निरन्तर थिए । जसका कारण कोरोना भाइरसको संक्रमण दर पनि बढ्दै गएको हो ।

माओवादी केन्द्रले १० देखि १८ पुससम्म गरी राजधानीको प्रज्ञा भवनमा आठौं राष्ट्रिय महाधिवेशन गरेको थियो । यसैगरी, एमालेले गत मंसिरमा चितवनको सौराहामा केन्द्रीय महाधिवेशन सकेर हाल देशभर जिल्ला अधिवेशन गरिरहेको छ ।

यसैगरी, नेपाली कांग्रेसको मंसिरमा नै केन्द्रीय महाधिवेशन सकिए पनि प्रदेश २ सहितका १६ जिल्लामा अधिवेशनको तयारी भइरहेको छ ।

माओवादी केन्द्रका देशभरबाट जम्मा भएका करीब १ हजार ७ सय नेता कार्यकर्ता आठ दिनसम्म एउटै हलमा भेला भएर छलफल गरेका थिए । त्यसक्रममा नै कतिपय नेता कार्यकर्तालाई ज्वरो आउने, रुघा लाग्नेजस्ता समस्या देखिएको थियो ।

माओवादी केन्द्रको महाधिवेशन सकिएलगत्तै केन्द्रीय तहका आधा दर्जन बढी नेताहरूमा संक्रमण पुष्टि भएको छ भने अन्य दलका नेताहरूसमेत आइसोलेसनमा बसेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका चार जना नेता आइसोलेसनमा छन् ।

नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका हुन् ।

उनीहरू सबै जना गत बिहीबार र शुक्रबार बसेको सत्तारूढ दल आबद्ध उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठकमासँगै थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौंमा भिडभाड हुने क्षेत्रमा केही कडाइ गरिने तयारी भएको जानकारी दिए ।

‘भिडभाड हुने क्षेत्रमा केही कडाइ गर्नुपर्ने विषयमा छलफल भइरहेको छ, संक्रमण बढेसँगै अब धेरै नै सचेत रहनुपर्ने अवस्था आइसकेको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले भने ।

उनले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सीसीएमसीको निर्देशनपछि संक्रमण रोकथाम गर्न भिडभाड नियन्त्रण गर्ने थप निर्णय लिने जानकारी दिएका हुन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भिडभाडबाटै संक्रमणदर बढेको बताउँदै भिडभाड नियन्त्रणतर्फ प्रसासनको पहिलो प्राथमिकता रहने जानकारी दिइन् ।

उनका अनुसार विद्यालय, सिनेमा हल, सार्वजनिक यातायातलगायत क्षेत्रमा हुने भिडभाड कम गर्ने तर्फ प्रसासनको ध्यान केन्द्रित हुनेछ । राजधानी दैनिकबाट