४ बैशाख २०८१, मंगलवार

कुनै पनि प्रकारको दासत्व स्वीकारेर विदेशी सहयोग लिइँदैन: महामन्त्री शर्मा

Bishow prakash sharma
फाइल फोटो

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरू कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताउनुभएको छ ।

आज गृह जिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले आयोजना गरेको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा उहाँले विवादित अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा उक्त धारणा व्यक्त गर्नुभएको हो ।

देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग सदैव स्वागतयोग्य रहने उल्लेख गर्दै उहाँले राष्ट्रवादको मनोविज्ञानले कहिलेकाहीँ विकासमा अवरोध पुर्‍याउने गरेको चर्चा गर्नुभयो । विगतमा अरुण तेस्रो जलविद्युत् परियोजनामा विदेशी लगानी अस्वीकार गरिँदा मुलुक विद्युत् भार कटौतीको चपेटाबाट गुज्रिएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “राष्ट्रवादको मनोविज्ञानले समाजको प्रगतिमा अवरोध सिर्जना गर्दो रहेछ । विसं २०५१ मा अरुण तेस्रो बनाउन दिएको भए २०६१ मा विद्युत् भार कटौती मुर्दावादको नारा लगाउनै पर्ने थिएन ।”

पार्टीभित्रका विभिन्न पदमा मनोनीत गर्ने र विभाग गठनका विषयमा कुनै ढिलासुस्ती नहुने महामन्त्री शर्माले बताउनुभयो ।