८ बैशाख २०८१, शनिबार

थप ३९३ जनामा कोरोना सङ्क्रमण पुष्टि, तीन जनाको निधन

corona insurance

देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा नौ हजार ३२९ जनाको नमूना परीक्षण गरिएको थियो ।

सात हजार ७९४ जनाको पीसीआर तथा एक हजार ५३५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २६३ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १२ हजार ९३७ पुगेको छ । निको हुनेदर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख २९ हजार ६३२ जनामा तथा एन्टीजेन विधिबाट परीक्षण गर्दा ९६ हजार ३१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ८७ हजार ८१८ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३५ हजार ९५२ पुगेको छ ।

कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार ७७४ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको निधन भएको छ । योसँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या ११ हजार ६०१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ ।

हाल देशभर भेन्टिलेटरमा २५ जना तथा आइसियुमा ८८ जना छन् । होमआइसोलेसनमा चार हजार ८३४, संस्थागत आइसोलेसनमा २६० तथा क्वारेन्टिनमा ९८ जना रहेका छन् ।

हाल देशभर ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर छन् भने २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ९९, ललितपुरमा ५९५ र भक्तपुरमा ५१४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।