६ बैशाख २०८१, बिहीबार

बलिउड फिल्म ‘पृथ्वीराज’को पनि प्रदर्शन स्थगित

teaser

दैनिकरुपमा कोरोना संक्रमितको संख्या बढेपछि भारतका विभिन्न राज्यमा सिनेमा हल बन्द भइरहेका छन् । जसको प्रत्यक्ष प्रभाव भारतका फिल्मलाई परेको छ ।

दुई चरणको कोरोना महामारीका कारण समस्यामा परेका फिल्म निर्माता र प्रदर्शकले बल्ल राहतको सास फेर्न थालेका थिए । तर, ओमिक्रोन भेरियन्टको खतरा बढेपछि भारतमा धमाधम सिनेमा बन्द गर्न थालिएको हो ।

यसअघि फिल्म ‘जर्सी’ र ‘आरआरआर’को प्रदर्शन मिति स्थगित भइसकेको छ । यस्तै जनवरी २१ मा रिलिज हुने भनिएको अक्षय कुमार र मानुषी छिल्लर अभिनित फिल्मको पनि प्रदर्शन मिति सरेको छ ।

बलिउड फिल्मले सर्वाधिक कमाइ गर्ने महाराष्ट्रमा ५० प्रतिशत मात्र अकुपेन्सीमा हल सञ्चालन गर्न पाइन्छ भने राति ८ बजेपछि हल बन्द गर्नुपर्ने नियम लगाइएको छ । यस्तै, दिल्लीका सबै हल पूर्ण रुपमा बन्द भइसकेका छन् । आन्ध्रप्रदेश र तमिलनाडुमा पनि ५० प्रतिशत अकुपेन्सीमा मात्र हल चलाउन पाइने नियम छ ।

यिनै कुरालाई मध्यनजर गर्दै फिल्म ‘पृथ्वीराज’को निर्माणपक्षले प्रदर्शन मिति पोष्टपोन्ड गरेको जनाइएको छ । यशराज ब्यानरले निर्माण गरेको यो फिल्म ऐतिहासिक कथामा आधारित छ । फिल्मको ट्रेलरलाई दर्शकले रुचाएका छन् ।

चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको ऐतिहासिक ड्रामा फिल्म ‘पृथ्वीराज’ भारतका वीर सपूत पृथ्वीराज चौहानमा आधारित छ । फिल्ममा अक्षय कुमारले पृथ्वीराजको मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा ‘मिस वर्ल्ड ’ मानुषी छिल्लरले पनि अभिनय गरेकी छन् । यो उनको डेब्यू फिल्म हो । उनले संयोगिताको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा सञ्जय दत्त, सोनू सूद र मानव विजको पनि अभिनय छ ।