७ बैशाख २०८१, शुक्रबार

स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सकी कर्मचारी विमानस्थलबाट पक्राउ

money

त्रिभुवन विमानस्थलबाट एक निजी एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेकी छन् ।

सौर्य एयरलाइन्समा असिस्टेन्टको रुपमा कार्यरत कर्मचारी रेखा शाक्य पोखरेल स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेकी हुन् ।

शनिबार दिउँसो विराटनगरबाट काठमाडौं आएको जहाजमा स्रोत नखुलेको रकम आएको बारे सूचना आएपछि सादा पोसाकमा खटिएको प्रहरीले चेकजाँच गर्दा १ हजार दरका ४९५० वटा र ५०० दरका १०० वटा गरी जम्मा ५० लाख नगद बरामद भएको थियो ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई प्राप्त भएको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा रातो रंगको ब्याग चेकजाँच गर्दा उक्त ब्याग भित्र लुकाई छिपाई राखेको नगद बरामद भएको थियो ।

झोलाभित्र करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्रको सो रकम भन्सार उद्‍घोष भएको नपाइएको प्रहरीको भनाइ छ । उक्त रकम संकलन गर्न आउने पोखरेललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।