१३ बैशाख २०८१, बिहीबार

‘गणतान्त्रिक शासन व्यवस्था सुदृढ बनाउनु प्रमुख राजनैतिक कार्यभार’

deuba 09 16 1024x813 1

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालभित्र बसोबास गर्ने सबै जातजातिका नागरिक बिच मेलमिलाप कायम गरी सङ्घीय गणतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउनु अहिलेको प्रमुख राजनैतिक कार्यभार भएको बताउनुभएको छ ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज काठमाडौँको सुन्दरीजल स्थित बिपी सङ्ग्रहालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सबै जातजाति, भाषा, धर्म र संस्कृतिका नागरिक बिच एकता र मेलमिलाप कायम गरी राष्ट्रिय एकतामा जोड दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले समयको परिवर्तनसँगै राष्ट्रिय एकता र मेलमिलापका आयामहरू परिवर्तन हुँदै गए पनि यसको महत्त्वमा कमी नआएको बताउनुभयो ।

सङ्घीय शासन व्यवस्था भएको देशमा सबै प्रदेशहरू बिच एकता र मेलमिलाप हुनु जरुरी रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले सात वटै प्रदेशहरू बिचको एकिकृत प्रयासबाट मात्रै राष्ट्रिय एकता बलियो हुने र देश विकासले गति लिने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सो अवसरमा सङ्ग्रहालय परिसरमा रहेको नेपाली काँग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण पनि गर्नुभएको थियो ।

deuba 09 16 1 768x1004 1