१३ बैशाख २०८१, बिहीबार

पर्यटन बोर्डका सीईओले आफ्नो इमान किन्न खोजेको मन्त्री आलेको आरोप

prem aale
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनु भएको छ ।

आज नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनु भएको हो । उहाँले हाल छानबिनका क्रममा रहनुभएका बोर्डका सीईओ धनञ्जय रेग्मीले आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सीईओ बनाउँदा संस्था चल्न नसक्ने बताउनु भयो । उहाँले सीईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिनुभयो ।

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकाले सम्हाल्नै गाह्रो भइरहेको बताउनुभयो । उहाँले पहिला कालेकाले मिलेर भाले खाए पनि अब प्रेम आले आएकाले भ्रष्टाचार हुन नदिने बतउनु भयो ।

मन्त्री आलेले भन्नुभयो, ‘बेचेर खान पाए हुन्थ्यो भनेर त्यो धन्दामा छन् । यस्तायस्ता विकृतिहरु छन् सम्हाल्नै गाह्रो छ । म आइसकेपछि पर्यटन विभागमा भर्खरै हाम्रो डिजीसाब आउनु भएको थियो । उहाँलाई पनि थाहा थिएन । टेण्डर एउटा अनाउन्स भयो । त्यो टेण्डरमा के रहेछ भन्दा जसले ढुंगा छाप्यो उसले टेण्डर पाउने । फस्टमा टेण्डर निस्क्यो, एउटाले टेण्डर बिट गर्छ उसले ठेक्का पायो । दोस्रो वर्ष टेण्डर निकाल्दा जसले ढुंगा छापेको छ, उसैले ठेक्का पाउने । तेस्रो वर्ष पनि उसैले ।

मलाई एक लस्कर ठेकेदारहरुले भने हामी अर्बौं लगानी गरेर काम गरिरहेका छौँ । तर हामीले पर्यटन विभागको टेण्डरमा १५ करोडको ठेक्का लिन हामीलाई आउट गरिदियो । जम्मै सेटिङको काम छ भन्छन् । त्यसपछि मैले इमिडेट्ली क्यान्सिल गराएँ । त्यहीँभित्र म नाम लिन्न । होइन हजुर यो पहिलाकै चलन हो । पहिला त काले काले मिलेर खाउँ भाले भन्थे, अब आयो आले ।’

मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो । उहाँले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनु भयो ।

मन्त्री आलेले भन्नुभयो, ‘म त्यो डब्लूटिएमको प्रोग्राममा जाँदा सबैभन्दा सानो स्टल हाम्रोतिर । दुई चारवटा कुखुरा अटाउने खालको । झन गैँडा भएपछि अट्न पनि गाह्रो । फोटो सेशन गरौँ भनेर गएका थियौँ। अट्न पनि गाह्रो छ । मैले निमित्त कार्यकारी सीईओलाई सोधेको छु कति खर्च भयो भनेर, इभन खानासमेत मैले आफ्नो पकेटबाट निकालेर खाएको छु । बस्न दूतावासमा म, सचिवज्यू लगायत बसेका छौँ । मेरो होटलमा एक रुपैयाँ खर्च भएको छैन । खानामा एक रुपैयाँ खर्च भएको छैन । ८० लाख बिल आयो भन्नुभएको छ । यो पनि एउटा कारबाहीको विषय बन्छ । ८० लाख के मा खर्च भयो ? मेरो टिकटको कुरा त पर्यटन मन्त्रालयबाट भएको छ । मेरो दायित्व त यहाँ जोडिएको छैन । के मा गर्नुभयो तपाईले ८० लाख खर्च ? त्यसको छानबिन गर्नुहोस् । कानूनी दायरामा ल्याउनुस् । कडाभन्दा कडा कारबाही गर्नुहोस् ।’

मन्त्री आलेले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभयो ।