१३ बैशाख २०८१, बिहीबार

फिल्म ‘कठपुतली’ आज बाट देशव्यापी प्रदर्शनमा

Kathaputali 2

हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ आज शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको छ। ‘कठपुतली’ को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियरगरिएको थियो । प्रिमियरमा उपस्थित अधिकांशले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले, छायांकन, साउन्ड डिजाइन, लाइटिङ, फ्रेमिङ र सम्पादनको प्रशंसा गरेका थिए ।

प्रिमियरमा बोल्ड परिहनमा पुगेकी फिल्मकी मुख्य अभिनेत्री उषा रजकले वर्षौंको मेहनतले यत्तिको प्रोडक्ट बनेको बताउँदै फिल्म हेर्दा आफू इमोसनल भएको बताइन् । उनले भनिन्, ‘फिल्मको छायांकन भइरहँँदा मेरो छोरी ९ वर्षकी थिइन् । उनलाई आफन्तकोमा छोडेर पाल्पा जाँदाको सम्झना फिल्म हेर्दा झलझली आयो । म आफैंलाई भने फिल्म राम्रो लाग्यो ।’

अभिनेत्रीद्वय गौरी मल्ल र शिल्पा मास्केले फिल्ममा आफ्नो भूमिकाबाट सन्तुष्ट रहेको बताएका थिए । जितु नेपालले उद्घोषण गरेको प्रिमियर शोमा राजनेता रविन्द्र मिश्र, नाट्यकर्मी अशेष मल्ल, पत्रकार टिकाराम यात्री, गायकद्वय सत्य-स्वरुप, कलाकार सन्दिप क्षेत्री, निर्देशक सुदर्शन थापा, लेखक प्रदीप भारद्वाज, नायिका बेनिशा हमाल, नायक निराजन प्रधान, निर्माता अर्जुन कुमार लगायतको उपस्थिति रहेको थियो ।

फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । फिल्म मिथिला शर्मा, कर्मा र उषामाथि केन्द्रित छ । पिताको गलत निर्णयले ढल्ने अवस्थामा पुगेको राजतन्त्रलाई जोगाउन निस्किएको राजकुमारको जीवनमा आउने विभिन्न घटनाक्रमलाई देखाइएको फिल्ममा मिथिला शर्माको अभिनय बुलन्द छ । कर्मा र उषाले पनि जीवन्त अभिनय गरेका छन् । त्यस्तै, गौरी मल्ल र शिल्पा मास्केले पनि फिल्ममा आफ्नो प्रभाव छाडेका छन् ।

फिल्मको अर्को सबैभन्दा बलियो पक्ष भनेको ब्याकग्राउन्ड स्कोर हो । स्तरीय ब्याकग्राउन्ड स्कोरले फिल्ममा प्राण भरेको छ । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमको छायांकन पनि प्रशंसायोग्य छ । त्यस्तै, लाइटिङ, फ्रेमिङ र इडिटिङले फिल्मको कथालाई मर्न दिएको छैन । पहिलो पटक फिचर फिल्मको निर्देशन गरेका भिमसेन लामाले आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरेका छन् ।

सुवर्ण थापा, ध्रुव कोइरालाको पनि अभिनय रहेको फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।