
महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँको बसपार्कमा एक महिलाले आफूमाथि सामूहिक रूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाबारे मङ्गलवार अपराह्न ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परे लगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालाई पक्राउ गरेको थियो । उनीसँगको बयान र थप अनुसन्धानका क्रममा त्यसको तीन घण्टापछि गए राति ११ बजेसम्ममा सात जना नियन्त्रणमा लिएको मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार थप खोजतलासका क्रममा आज बिहान ९ बजेतिर एक जना र अपराह्न ४ बजे थप एक गरी अहिलेसम्म नौ जना आरोपी पक्राउ परेका छन् । उनीहरूले एक गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको पीडितको आरोप छ ।
पीडितको स्वास्थ्य परीक्षण समेत गरिएको र घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । सबैले घटना स्वीकार गरेको पनि प्रहरीले जानकारी दिएको छ ।रासस