१३ बैशाख २०८१, बिहीबार

माइनस ७ डिग्री सेल्सियस तापक्रम मनाङमा

manage himpat

हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्रसम्म हिमपात भइरहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार मङ्गलबार दिउँसो ३ बजेबाट हिमपात हुन सुरु भएको हो । अहिले पनि हिमपात भइरहेको मनाङ ङिस्याङ गाउँपालिका ६ मनाङका वडा सदस्य कर्मा गुरुङले बताउनुभयो । उहाँका अनुसार निरन्तर हिउँ पर्दा चिसो अत्यधिक बढेको छ । ‘हिजो दिउँसोदेखि हिउँ पर्न थालेको हो । २ फिटसम्म हिउँ जमेको छ । चिसो बेस्सरी बढेको छ । बाहिर निस्कन सक्ने अवस्था छैन । घरभित्रै आगो तापेर बसेका छौं’ उहाँले भन्नुभयो, ‘हिमपात रोकिने होकी भनेको रोकिएको छैन । कामकाज गर्न गाह्रो भयो । दैनिकी चलाउन समस्या भएको छ ।’

नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रका प्रशासन प्रमुख गुप्तबहादुर रानाका अनुसार मंगलबारदेखि परेको हिउँ रोकिएको छैन । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । चिसो बढेका कारण कार्यालयमा सेवाग्राही आउन नसकेको उहाँले बताउनुभयो । कर्मचारी पनि कार्यालभित्रै न्यानो भएर बस्ने गरेका छन् ।

मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार मनाङको माथिल्लो क्षेत्र मात्र नभएर तल्लो क्षेत्रमा हिमपात भएको छ । दुई फिट बढी हिउँ जमेको छ । उहाँले भन्नुभयो–‘चिसो असाध्यै बढेको छ । बाहिर जान सकिँदैन । भित्रैै न्यानो भएर बस्न बाहेक अरु गर्न सक्ने अवस्था छैन । अत्यावश्यक काम परेमा सतर्कताका साथ हिँड्ने गरेका छौं ।’ हिउँ जमेको बाटो खुलाउने कुरा भए पनि निरन्तर हिमपात भएकाले काम गर्न नसकिएको बताउनुभयो । हिमपात भइरहँदा बाटो खुलाउन समस्या हुने र खुलाए पनि पुनः हिमपातले हिउँ जम्ने बताउनुभयो । सानासाना खोलानाला, झरना र मर्स्याङ्दीको छेउछाउ पनि जमेको छ । नागरिकलाई सुरक्षित भएर बस्न प्रहरीले अनुरोध गरेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङका अधिकांश गाउँमा हिमपात भईरहेको छ । सदरमुकाम चामेसँगै तल्लो क्षेत्र र माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ । तल्लो क्षेत्रको तालमा भने पानी परिरहेको छ । धारापानीबाट माथि सबै ठाउँमा हिउँ परेको छ । चामेसम्म २ फिटसम्म र माथिल्लो क्षेत्रमा ३ फिटसम्म हिउँ जमेको आचार्यले बताउनुभयो । चिसो बढेकाले नागरिकलाई सुरक्षित रहन प्रहरी प्रशासनले अनुरोध गरेको छ । ‘हिउँ परिरहेको छ । कहिलेसम्म पर्ने हो थाहा छैन । २-३ फिट जमेको छ । यो समय सबै कर्मचारी, सुरक्षा निकायलाई आ आफ्नो तर्फबाट चनाखो बन्न भनिएको छ । बाहिर ननिस्कन भनिएको छ’ उहाँले भन्नुभयो, ‘राति चामेको तापक्रम माइनस ७ डिग्री सेल्सियस थियो । अहिले माइनस २ डिग्री सेल्सियस छ ।’ चिसोका कारण सरकारी कार्यालयमा सेवाग्राही आएका छैनन् । मानिस एक घरबाट अर्को घर जान सकेका छैनन् ।

उहाँका अनुसार हिमपात बढ्न सक्ने भएकाले घरभित्रै बस्न, न्यानो कपडा लगाउन, आगो तापेर बस्न अनुरोध गरिएको छ । प्रहरीमार्फत सबै नागरिकलाई सूचना गरिएको बताउनुभयो । केही ठाउँमा पानी पनि परेकाले बाढीपहिरोको जोखिम हुन सक्ने भन्दै जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित रुपमा बस्न भनिएको छ ।