८ बैशाख २०८१, शनिबार

लिङदेनले भने, ‘भारतको सर्त नमान्दा राजा वीरेन्द्र मारिनु पर्‍यो’

rajendra lingden
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन दरबार हत्याकान्डमा भारतको हात रहेको टिप्पणी गरेका छन् । भारतले तेस्र्याएका शर्तहरु राजा वीरेन्द्रले पुरा नगरेको कारण मारिनु परेको टिप्पणी गरेका छन् ।

राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा लिङदेनले सिक्किममा राजसंस्था अन्त्यपछि देशै भारतमा विलय भएको स्मरण गरे ।

उनले राजसंस्था नरहेपछि जनप्रतिनिधि भनिनेहरुले देशै भारतमा बिलय गराए । आज नेपालमा पनि त्यही खतरा मडराइरहेको लिङदेनले बताए । आफूले राजा वीरेन्द्रसँग नजिक हुने कहिल्यै अवसर नपाए पनि उनका शासनकालका धेरै प्रसंग आफ्ना लागि प्रेरणादायी रहेको लिङदेनले बताए । उनले २०४५–४६ सालको नाकाबन्दीकाल सम्झिए ।

उनले भने, ‘म त्यसबेला विद्यार्थी राजनीतमा थिएँ । तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्रसामु ६ बुँदे शर्तहरू अघि सारेको मैले बताइराख्नु पर्दैन । त्यसबेला राजाले ती शर्तहरू मानेको भए राजसंस्था पनि रहिराख्थ्यो होला । यद्यपि, नाममात्रैको हुन्थ्यो होला । र, वीरेन्द्र मारिनुपर्ने परिस्थिति पनि आउँदैनथ्यो होला ।’

राजा वीरेन्द्रले विदेशीसँग सम्झौता गर्नुभन्दा आफ्नै देशका जनता र राजनीतिक पार्टीसँग सम्झौता गर्ने अडान लिएको लिङदेनले बताए ।

त्यसबेलादेखि मलाई कस्तो लाग्यो भने, हामी कोहीभन्दा, कुनै राजनीतिक दलको नेताभन्दा, कुनै नागरिकभन्दा राजा देशभक्त हुने उनले बताए ।