१६ चैत्र २०८०, शुक्रबार

गठबन्धनमा कसैले शंका नगरे हुन्छ : प्रधानमन्त्री देउवा

Sher Bahadur Deuba 3

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका नगर्न सबैलाई अनुरोध गर्नुभएको छ । आइतबार नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले गठबन्धन कसैको बर्खिलापमा नबनेको भन्दै शंका नगर्न अनुरोध गर्नुभएको हो । ‘अहिलेको गठबन्धन कसैको विरुद्धमा बनेको होइन । अहिलेको संविधानबाट संसद्‍ बीचमा भंग नहोस् । संविधान अनुसार संसद चलोस् भन्ने पुनित लक्ष्यका साथ बनेको हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यो संविधानका साथसाथै संसद्‍ बचाउने गठबन्धन हो । गठबन्धनमा कसैले शंका नगरे हुन्छ ।

प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाति भएको सुनेको भन्दै सबैलाई पढ्न अनुरोध गर्नुभएको छ । आफू देशको प्रधानमन्त्री भएकाले राष्ट्रको खिलापमा लाउला र भन्ने प्रश्न गर्दै उहाँले एमसीसी सम्झौता पढ्न सुझाव दिनुभएको हो ।
‘म राष्ट्रको प्रधानमन्त्री हुँ, म राष्ट्रको खिलापमा जाउला र ?’, उहाँले भन्नुभयो, ‘ एक पटक एमसीसी पढ्नुहोस् ।’

माओवादीको महाधिवेशन महत्वपूर्ण समयमा भएको भन्दै प्रधानमन्त्री देउवाले खुशी व्यक्त गर्नुभयो । सहमतिमा महाधिवेशन हुनु राम्रो भएको उहाँको भनाइ छ ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले संविधानसभाको चुनाव गर्नमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । प्रचण्डको बलमा नै संविधानसभाको चुनावमा गएको सम्झना उहाँले गर्नुभएको हो ।

‘सहमतिमा महाधिवेशन हुनु राम्रो कुरा हो । पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान दिनुभएको छ । शान्ति प्रक्रियामा संविधानसभाको चुनाव उहाँको सर्त रहेको सत्य कुरा हो । उहाँको बलले हामी संविधानसभामा गएका हौँ’, देउवाले भन्नुभयो, ‘यस मानेमा संविधानसाबाट संविधान बनाउने २००७ सालदेखिको कुरा पुष्पकमल दाहालको अगुवाइमा भएको छ ।’

प्रधानमन्त्री देउवाले गणतन्त्रात्मक संविधान बन्नुमा प्रचण्डको योगदान स्वीकार गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘यो संविधान बनाउने काममा पुष्पकमल दाहालको महत्वपूर्ण योगदान रहेको कुरा हामीले स्वीकार गर्नुपर्छ’, देउवाले भन्नुभयो ।