१४ बैशाख २०८१, शुक्रबार

कालिन्चोकमा हिमपात, पर्यटक आकर्षित

kalinchok 1024x461 1

दोलखाको कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएपछि क्रिसमस पर्व मनाउन पुगेका नेपाली तथा भारतीय पर्यटक उत्साहित भएका छन् । शुक्रवार दिउँसोबाट कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको थियो ।

कालिन्चोकमा शुक्रवार दिउँसो केही समय हिमपात भएको थियो । शुक्रवार राति र शनिवार दिउँसो समेत हिमपात भएपछि अहिले कालिन्चोकको मन्दिर आसपास, कुरी र वरिपरिका पहाडहरू सेताम्य भएका छन् । लगातारको हिमपातले पुरै पहाड सेताम्य भएपछि क्रिसमसको लागि कालिन्चोक आएका पर्यटक उत्साहित बनेको होटेल सुनपाति कुरीका विमल ओझाले बताए ।

पछिल्लो समय कालिन्चोकमा नेपालको तराई तथा काठमाडौँ उपत्यकासँगै भारतको विभिन्न ठाउँबाट समेत ठूलो सङ्ख्यामा पर्यटक आउन थालेको स्थानीय होटेल व्यवसायीहरूले बताएका छन् ।

मौसममा आएको परिर्वतनसंगै पुसको पहिलो साताबाटै कालिन्चोकमा चिसो बढेको थियो । शुक्रवारबाट हिमपात सुरु भएपछि पर्यटकहरू बढेको होटेल सुनपातिका ओझाले सुनाए ।

३८४२ मिटरको उँचाइमा रहेको कालिन्चोकमा पुस देखि चैत्रसम्म अत्यधिक हिमपात हुने गरेको छ । कोरोनाका कारण सुस्ताएको कालिन्चोकको पर्यटकीय चहलपहल बिस्तारै सुरु भएको स्थानीय बताउँछन् ।

शनिवार क्रिसमस पर्वको दिन झन्डै दुई हजार पर्यटक पुगेको होटेल सुनपातिका विमल ओझा बताउँछन् । कालिन्चोकमा हिमपात सुरु भएपछि कुरी क्षेत्रमा रहेका ६० भन्दा बढी साना तथा ठूला होटेलहरू भरिएको स्थानीयको भनाइ छ ।