१४ बैशाख २०८१, शुक्रबार

आयोगद्वारा वैशाख १४ गते स्थानीय निर्वाचनको प्रस्ताव

Election Commission Nepal

प्रधानमन्त्री शेर बहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले आज भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री देउवासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहित आयोग पदाधिकारीहरूले भेट गरी स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ गते गर्न उपयुक्त हुने प्रस्ताव गर्नुभएको छ ।

भेटका क्रममा एकै दिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरण वैशाख २२ गते निर्वाचन गर्न उपयुक्त हुने विषयमा जानकारी गराइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले राजनीतिक दलहरूसँगको छलफल पछि आयोगको प्रस्तावलाई अगाडी बढाउने कुरा बताउनु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले राजनीतिक दलहरूसँगको छलफलबाट सहमति कायम गरी सबै क्षेत्रहरूमा प्रयोग गर्न नसकिए पनि केही निश्चित क्षेत्रहरूमा भोटिङ मेशिन प्रयोग गर्दै जाने बताउनुभयो ।

छलफलमा प्रमुख आयुक्त थपलियाले राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि यही माघ १२ गते सम्पन्न हुने निर्वाचनको तयारी, स्थानीय तह निर्वाचनलाई लक्षित गरी गत मङ्सिर १७ गतेदेखि मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।