१४ बैशाख २०८१, शुक्रबार

गायिका रेखा शाहको चेतावनी : अनुमतिविना मेरो गीतको व्यावसायिक प्रयोग नहोस्

rekha shaha 1

गायिका रेखा शाहले आफ्ना गीत व्यावसायिक प्रयोजनका निम्ति प्रयोग नगरिदिन आग्रह गरेकी छन् । शाहले आफ्नो अनुरोधलाई बेवास्ता गरी प्रयोग गरेमा कानूनी कारबाहीमा जाने चेतावनी समेत दिएकी छन् ।

रेखाको झण्डै तीन दशकअघि सार्वजनिक गीत ‘सिमसिमे पानीमा’ निकै चर्चित छ ।

रेखाले रेडियो नेपालमा गाएर स्वर्णपदक पाएको यो गीत उनको पर्याय नै बनेको छ । उनकै शब्द, लय र स्वर रहेको गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।

बिहीबार रेखाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, मेरो रचना/सङ्गीत (शब्द/लय) रहेको गीत ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ रेडियो नेपालमा गाएर स्वर्ण पदक पाएको ३० वर्ष पुगिसकेको छ । आज मेरो पहिचान नै त्यही गीत बनेको छ । मसँग प्रतिलिपी अधिकार सुरक्षित रहेको मेरो गीत मेरो अनुमतिबिना विभिन्न रियालिटी शोहरू गाइएका छन् ।

प्रतिभा पहिचान गर्ने हो भनेर मैले कुनै आयोजकलाई कुनै प्रतिक्रिया दिइनँ । अहिले आएर त्यही प्रतियोगिताहरूमा विजेता बनेका भाइबहिनीहरूले व्यवसायिक प्रयोजनका निम्ति गाइने स्टेज शोहरूमा गाउँदै पैसा कमाइरहेको देखिरहेकी छु । अझै मेरो अनुमतिबिना म्युजिक ट्रयाक बनाई गाएकोले एउटा स्रष्टा र सर्जकमाथि अन्याय र हेपाहा प्रवृत्ति देखा परेको मलाई महसुस भएको छ ।

आगामी दिनमा त्यसरी व्यवसायिक प्रयोजनका निम्ति मेरो गीत प्रयोग नगरिदिनुहुन अनुरोध छ । साथै, मेरो अनुरोधलाई बेवास्ता गरी प्रयोग गरेमा प्रतिलिपी अधिकार अनुसारको कानून र अनुमतिबिना कसैको सम्पत्तिको भोगचलन बापतको ठगी मुद्धा अनुसारको कानूनी कारबाही गरिने जानकारी गराउँदछु ।

    सम्बन्धित समाचार...