११ बैशाख २०८१, मंगलवार

कानून पास गर्नका लागि भएपनि संसद् सुचारु गर्नुपर्छ : मन्त्री बडू

Dilendra Prasad Badu
फाइल फोटो

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले जरुरी कानून पास गर्नका लागि भएपनि संसद् सुचारु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा मन्त्री बडुले प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरोध गरेका कारण जरुरी कानून संसदबाट पास हुन नसकिरहेको भन्दै संसद् सुचारु गर्न राजनीतिक सहमति आवश्यक रहेको बताउनुभयो ।

मन्त्री बडुले जनताका सवालमाथि छलफल हुने जनप्रतिनिधिमूलक थलो लामो समयसम्म अवरोध हुनुहुँदैन भन्नेमा कसैको विमति नरहनुपर्ने भन्दै संसद् अवरोध गर्दागर्दै सङ्घीयता नै अवरुद्ध हुने अवस्थामा पुगेको दाबी गर्नुभयो ।

मन्त्री बडुले नागरिकता विधेयक अघि बढाउन कुनै समस्या नभए पनि संसद् अवरोधका कारण कठिनाइ भएकाले संसद् सञ्चालनको बाटोमा गए सङ्घीयता र नागरिकतासँग जोडिएका विधेयकहरू पारित गर्न सकिने स्पष्ट पार्नुभयो ।

उहाँले नागरिकता सम्बन्धी विधेयक संसदबाट पास हुन नसक्दा जटिलता थपिँदै गएको भन्दै राजनीतिक सहमतिका आधारमा जतिसक्दो संसदबाट पास गरिनुपर्ने बताउनुभयो ।

मन्त्री बडूले जरुरी जरुरी विधेयक पास गर्नै भएपनि संसद् सुचारु गर्न समितिबाट आग्रह गर्न सुझाव दिनुभयो ।

गृहसचिव टेकनारायण पाण्डेले नागरिकता सम्बन्धी समस्या अत्यन्तै जटिल रहेको भन्दै यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

सांसदहरूले नागरिकता सम्बन्धी समस्या जटिल भएको र केही हदसम्म जटिल बनाइएको भन्दै यसलाई चाँडो निकास दिनुपर्ने धारणा राख्नुभएको थियो ।