१२ बैशाख २०८१, बुधबार

माओवादी, जसपा र लोसपा ‘मधेस’ प्रदेश बनाउन सहमत

Province No. 2

प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहमत भएका छन् ।

बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेका हुन् ।

विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले पनि मधेस नाममै समर्थन जनाएकी छन् । माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रस्ताद साहले पनि प्रदेशको नाम ‘मधेश प्रदेश’ प्रस्ताव गरे । प्रदेश २ को पहिचान मधेस र मधेसी भएकाले नाम एकमत भएर ‘मधेस प्रदेश’ पारित गनुपर्ने उनको भनाई छ ।

नेकपा (एकीकृत समाजवादी)ले प्रदेशको नाम जानकी राख्न प्रस्ताव गरेको छ भने नेपाली कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ ।

१०४ सदस्यीय प्रदेशसभामा जनता समाजवादी पार्टीका ३९, लोकतान्त्रिक समाजवादी पार्टीका १६ र माओवादी केन्द्रका ८ सांसद छन् । प्रदेशसभाबाट नाम पारित हुन प्रदेशसभाको दुई तिहाइ अर्थात ६९ सांसदको समर्थन आवश्यक पर्छ ।

जसपा, लोसपा र माओवादी केन्द्रको समर्थनले मात्र प्रदेशसभाबाट मधेस नाम पारित हुने सम्भावना देखिन्न । प्रदेश सभाको बिहीबारको बैठकमा प्रदेशको स्थायी राजधानीको बिषयमा पनि छलफल भएको छ । छलफलमा भाग लिने अधिकांश सांसदले जनकपुरधामलाई राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् ।