६ बैशाख २०८१, बिहीबार

झलनाथ खनाल नेतृत्वमा ३ सदस्यीय एमसीसीबारे निष्कर्षमा पुग्न कार्यदल गठन

Sarbadaliya Baithak Baluwatar 3

सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले ३ सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।

कार्यदलले एमसीसीका सम्बन्धमा एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर ठोस निष्कर्ष निकाल्ने बताइएको छ ।

तीन सदस्यीय कार्यदलको नेतृत्व खनालले गर्नुभएको छ । उहाँ यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलको पनि संयोजक हुनुहुन्थ्यो । खनाल र उहाँको पार्टी एकीकृत समाजवादीले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने स्पष्ट पारेको छ ।

कार्यदलका अर्का सदस्य माओवादी नेता श्रेष्ठले पनि एमसीसी यही अवस्थामा पारित हुन नहुने बताउदै आउनुभएको छ । कार्यदलका सदस्य रहनुभएका मन्त्री कार्की भने यसअघि एमसीसी सम्झौताका हस्ताक्षरकर्ता हुनुहुन्छ ।