१३ बैशाख २०८१, बिहीबार

अस्थिरताको सम्वाहक प्रचण्ड र माधव नेपाल भएको एमाले अध्यक्ष ओलीको आरोप

kp oli
फाइल फोटो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक भएको बताउनु भएको छ।

अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको दावीसमेत गर्नु भयो । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा आज आयोजित पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रममा बोल्दै उहाँले कतिपय बाह्य शक्तिले मुलुकमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील रहेको र त्यसको संवाहक शक्तिको रुपमा भने प्रचण्ड र नेपालले काम गरिरहेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्वहरुसँग एकता गरेर जाने अवस्था नरहेको बताउनुभयो । उहाँले उनीहरुको कनेक्सन कहाँ छ ? भन्ने कुरा पनि आफूहरुलाई थाहा भएको बताउनुभयो । अध्यक्ष ओलीले माओवादीले जनयुद्ध भनेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम विगतमा पनि गरेको जिकीर गर्नु भयो ।

उहाँले भन्नुभयो-‘अहिले राष्ट्र दुई ध्रुवमा विभाजित हुँदै गएको छ । यसलाई अलि समन्वयात्मक ढंगले सुव्यवस्था, सुशासन र समृद्धितर्फका हाम्रा प्रयासहरुमा सिंगो देश केन्द्रित हुनु पर्दथ्यो । स्थिरता र स्थायित्वतर्फ सिंगो देश केन्द्रित हुनु पर्दथ्यो । तर भएन, भएको छैन र यतापटि जाने स्थिति पनि देखिदैन । किनभने अस्थिरता मच्चाउने खोज्ने शक्तिहरु क्रियाशील छन । नियन्त्रित अस्थिरता । खुलस्त भनिराखेका छन– कतिपय शक्तिहरुले नियन्त्रित अस्थिरता । हाम्रो नीति हो, नेपालको सन्दर्भमा । त्यो भनिराखेका छन र त्यसका लागि र ती कामहरु गर्ने शक्ति चाँही यहाँ छ । नियन्त्रित अस्थिरताका संवाहक शक्तिहरु । अस्थिरता मात्रै क्रियट गर्न खोज्ने, ती शक्तिहरु छन । अहिले ती शक्तिहरुमा सबभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थिरताका संवाहक तत्वहरु यिनै हुन ।’

अध्यक्ष ओलीले प्रचण्डले सेयर बजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी प्रचण्डले सो अभिव्यक्ति दिएको अध्यक्ष ओलीको गम्भिर आरोप छ ।

सेयर लगानीकर्ता र सामान्य जनताको लगानी जेसुकै होस् तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरु लगातार लागिरहँदा पनि कसैले विरोध समेत नगरेको उहाँले बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डले यो सेयर बजारको सन्दर्भमा बडा क्रान्तिकारी साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ रे । साम्राज्यवादको विकसित रुपचाहिँ लेनिनभन्दा पनि अलि बढी नै जान्ने भएछन–दुई स्टेप । पूँजीवाद विकसित रुप भएर साम्राज्यवाद हुन्छ लेनिनले भनेका थिए । त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ भनेर प्रचण्डल नयाँ थेसिस ठोक दिए । दुई दिनमा सेयर बजार धरासायी । त्यसले जनताको जीवनमा कति असर हुन्छ, सेयर लगानीकर्ताहरुको अवस्था कस्तो हुन्छ ?’

अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र जनताको सेवामा समर्पित भएर लाग्न सचेत गराउनुभयो ।