१३ बैशाख २०८१, बिहीबार

चार हजार ४०० मत खस्यो काँग्रेसको सभापतिको मतदानमा

sher bahadur and shekhar congress.2e16d0ba.fill 650x500 1

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार राति ८:४५ बजेसम्म करिब चार हजार ४०० मत खसेको छ ।
सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्याशी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ ।
राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा निर्धारित समयभित्र परिसरभित्र प्रवेश गरिसकेका सबैलाई मतदान गर्न दिइने समितिले जनाएको छ ।

समितिले अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने गरी निर्वाचन कार्य तालिका प्रकाशन गरेको भए पनि प्राविधिक कारणले मतदानमा केही ढिलाइ भएको हो ।
यसअघि सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो ।

सभापतिका अन्य प्रत्याशी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।
सोमबारको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । रासस