१३ बैशाख २०८१, बिहीबार

खोप लगाइसकेका व्यक्तिमा पनि ओमिक्रोन तीव्र सर्ने डब्लूएचओको चेतावनी

WHO 1

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक संक्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने जनाएको छ ।

तर यसको लक्षण भने सामान्य देखिने डब्लूएचओले प्रष्ट पारेको छ । दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्यांकले एक पटक संक्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरुमा पनि ओमिक्रोन तीव्र ढंगले फैलिन सक्ने देखिएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो आडहानोम घेब्रियसले बताए ।

तर, तीव्र फैलिन्छ भनेर निस्कर्षमा पुग्नुअघि अझै बढी तथ्यांक अध्ययन गर्न आवश्यक भएको उनले बताए । ओमिक्रोनको लक्षणबारे प्रष्ट तथ्यांक उपलब्ध गराउनसमेत प्रभावित देशहरुलाई उनले अनुरोध गरे ।

दक्षिण अफ्रिकामा फैलिएको ओमिक्रोन भेरियन्ट अहिले नेपाललगायत ४५ देशमा फैलिइसकेको छ । प्रभावित देशहरुले सीमामा कडाई गर्नुका साथै विभिन्न प्रतिबन्धातात्मक व्यवस्था लागू गरेका छन् ।

भाइरसलाई लिएर लापरबाही नगर्न पनि टेड्रोसले सर्वसाधारणलाई अनुरोध गरेका छन् । यो सामान्य भाइरस हो भनेर रमाउने हो भने यसले ठूलो मानवीय क्षति गर्ने उनले चेतावनी दिए । पछिल्लो भेरियन्ट मानिसहरुमा सजिलै फैलिने भएकोले संक्रमणको ‘चेन’ तोड्नुपर्ने उनले बताए ।

नयाँ भेरियन्ट यसअघिका डेल्टा भाइरसभन्दा न्यून जोखिमपूर्ण रहे पनि यसको संक्रमण क्षमता भने तीव्र भएको वैज्ञानिकहरुले बताउँदै आएका छन् ।