१५ चैत्र २०८०, बिहीबार

चुनाव सम्म सुदूरपश्चिम सरकार परिवर्तन हुँदैन : मन्त्री सोडारी

sodhari

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ डडेलधुरा शाखाले शनिवार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सोडारीले प्रदेश सरकार चुनाव सम्म रहने दाबी गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका संसदीय दलका नेता समेत रहेको सोडारीले सरकार बदल्ने कुरामा आफूहरूको चासो नरहेको बताउनुभयो । सरकार बदल्दा कर्मचारीसमेत काम नगर्ने र यसले कार्यसम्पादनमा असर पर्ने हुँदा सरकार परिवर्तनमा आफूहरू नलाग्ने मन्त्री सोडारीको भनाई थियो ।

‘अहिले हामी मुख्यमन्त्री बदल्ने पक्षमा छैनौँ । यसले गर्दा अस्थिरता जन्मिन्छ । कर्मचारीहरू पनि काम गर्दैनन्,’ उनले भने, ‘अहिलेको सरकार तीव्र गतिमा काम गरोस् भन्ने हाम्रो इच्छा हो त्यहीँ अनुसार काम अगाडि बढाइरहेका छौँ । उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने भनेर पार्टी प्रदेश कमिटीले निर्णय गरेको भए पनि यसबारेमा केन्द्रीय नेतृत्वले विचार गरेर निर्णय गर्ला भन्नेमा विश्वस्त रहेको बताउनुभयो ।

‘अरू प्रदेशहरूमा केन्द्रको गठबन्धनले काम गरिरहेको छ तर, सुदूरपश्चिममा त्यो काम भएको छैन,’ मन्त्री सोडारीले पत्रकार महासङ्घ डडेलधुरा शाखाको निर्माणाधीन अधुरो भवनमा आर्थिक सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।