१४ बैशाख २०८१, शुक्रबार

अन्य भेरियन्ट भन्दा तीन गुणा बढी सङ्क्रामक ओमिक्रोन

omicron variant 1

हालैको एक नयाँ रिर्पोटले कोरोना भाइरसका अन्य भेरियन्ट भन्दा ओमिक्रोन बढी सङ्क्रामक रहेको पुष्टि गरेको छ ।

नेपालमा समेत सङ्क्रमण पहिचान भइसकेको यो भेरियन्ट फैलन नदिन सरोकारवालासँगै नागरिकले पनि सचेतता अपनाउन आवश्यक रहेको जन स्वास्थ्यविद्हरूको सुझाव छ ।

विश्व समुदायले सामना गर्दै आएको कोरोना भाइरसका विभिन्न रूप अल्फा, बिटा, डेल्टा जस्ता भेरियन्टसँगै हालै देखा परेको अर्को नयाँ भेरियन्ट “ओमिक्रोन भेरियन्ट” जसलाई विश्व स्वास्थ्य सङ्गठनले चिन्ताको रूप अर्थात् ‘चिन्ताजनक विषय’ भनेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले धेरै सङ्क्रामक गुण भएका, मानव प्राणका लागि घातक, प्रविधि तथा उपचार विधिमा चुनौतीपूर्ण पुष्टि भएका भाइरसहरूलाई भेरियन्ट अफ कन्सर्नमा वर्गीकृत गर्ने गरेको छ ।

तर, भेरियन्ट अफ कन्सर्न भित्र परेको ओमिक्रोन भाइरसको विषयमा थप प्रष्ट हुन वैज्ञानिक खोज र अनुसन्धान भइरहेको छ ।

यस क्रममा हालैको ताजा नतिजा बारे जानकारी गराउँदै विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोन भेरियन्ट यस अघि देखिएका डेल्टा अथवा अन्य भेरियन्ट भन्दा तीन गुण बढी सङ्क्रामक भएको पुष्टि गरेको छ ।

नयाँ तथ्यबारे विश्व स्वास्थ्य सङ्गठन कोभिड-१९ टेक्निकल लिडकी डा. मारीया भानले भन्नुभयो, “एक नयाँ रिर्पोट अनुसार ओमिक्रोन भाइरसको सङ्क्रमण हुने दर डेल्टा भाइरसको तुलनामा ३ गुण बढी छ”। “दुई देखी तीन गुणाले पुनः सङ्क्रमणको जोखिम छ,” । पुनः सङ्क्रमण भन्नाले ९० दिनको अन्तरालमा २ पटक परीक्षण गर्नुपर्दछ ।

दक्षिण अफ्रिकाको एक नयाँ रिर्पोटले डेल्टा भाइरस भन्दा ३ गुणाले बढी यो भेरियन्टबाट सङ्क्रमण हुने भने पुष्टि गरेको छ ।

ओमिक्रोन भेरियन्टको धेरै सङ्ख्यामा म्युटेशन हुनु र केही म्युटेशनका लक्षण चिन्ताजनक रहेको विश्व स्वास्थ्य सङ्गठन कोभिड–१९ टेक्निकल लिड डा.मारीयाले बताउनुभएको छ ।

नेपालमा पनि ओमिक्रोन पुष्टि

नेपालमा पनि ओमिक्रोन भेरीयन्ट सङ्क्रमण २ जना विदेशी नागरिकमा पुष्टि भएको छ ।

त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका एक ६६ वर्षीय र ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा ओमिक्रोन देखिए सँगै निगरानीका तथा नियन्त्रणका लागि सर्भिलेन्स तथा कन्ट्याक ट्रेसिङलाई थप प्रभावकारी बनाउने कार्य थालनी गरेको स्वास्थ्य मन्त्रालयको सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

आम नागरिकलाई ओमिक्रोनबाट बच्न अरू भाइरस जस्तै जनस्वास्थ्यका सबै मापदण्डका पालना गर्नुपर्ने डाक्टरहरूको सुझाव छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रमण रोग विशेषज्ञ तथा रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार कोरोना भाइरस सङ्क्रमणले जर्जर बनाएको मानव जगत तङ्ग्रिन नपाउँदै नयाँ भेरियन्ट ओमिक्रोन देखापर्नुले जोखिमको अर्को पहाड उभ्याएको छ तर, यसको नियन्त्रण र उपचार भने फेरी पनि जन स्वास्थ्यका मापदण्ड अपनाउनु र सबै नागरिकले खोप लगाउनु नै हालसम्मको उत्तम विकल्प छ ।