६ चैत्र २०८०, मंगलवार

कलम र बिचारले क्रान्ति गर्नुस् : अध्यक्ष दाहाल

pkchitwan

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारले कलम र विचारले क्रान्ति गर्ने बेला आएको बताउनुभएको छ ।

नेपाल प्रेस सेन्टरको चौथो महाधिवेशनलाई चितवनमा सम्बोधन गर्नुहुँदै जनमत निर्माणको लागि सबै जना यस विरुद्ध लाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले प्रतिक्रान्ति र प्रतिगमनको विरुद्धमा थप आक्रामक रुपमा लाग्नुपर्ने बेला आएका बताउनुभयो ।

उहाँले आज आफूले पहिलो युद्ध जितिसकेको तर अझै पनि खतरा कायम रहेको बताउनुभयो ।

“पहिलो ब्याटल त हामीले जितिसकेका छौँ तर अझै पनि खतरा टरिसकेको छैन”, उहाँले भन्नुभयो, “प्रतिक्रान्ति र प्रतिगमनको विरुद्ध लाग्न नछाड्नुहोस् । अब युद्धले होइन कलम र विचारले क्रान्ति गर्नुस् ।”

अहिले नै रिल्याक्स गर्ने बेला नआएको भन्दै उहाँले यसतर्फ पत्रकारिता क्षेत्र थप सक्रिय र आक्रोशित बन्नुपर्ने बताउनुभयो ।

आफ्नो पार्टी समाजवादको बाटोतर्फ अघि बढेको भन्दै उहाँले निरङ्कुश, मण्डले प्रवृत्तिलाई परास्त गर्नुपर्ने बेला आएको बताउनुभयो । अहिले गठबन्धन नटुट्ने भन्दै उहाँले भन्नुभयो, “संविधानको रक्षाको लागि, लोकतान्त्रिक गणतन्त्रको लागि र राष्ट्रको रक्षाको लागि गठबन्धन आवश्यक छ । गठबन्धन सफल हुन्छ ।”

आफ्नो स्वार्थको लागि नभई राष्ट्रको स्वार्थको लागि तत्कालीन समयमा नेकपा एकता गरेको भन्दै उहाँले अझै पनि सम्पूर्ण कम्युनिष्ट पार्टी एक हुनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

“अझै पनि नेकपा एकता हुनुपर्ने आवश्यक छ तर केही भिलेनहरु छन्”, उहाँले भन्नुभयो, “उनीहरू बाहेक सम्पूर्ण कम्युनिष्टहरु एक हौँ ।”

आफू केपी ओलीको सरकारको बेलामा भन्दा अहिले थप शक्तिशाली भएको उहाँले दाबी गर्नुभयो ।

“अस्ति भएको कुम्भ मेला असफल भइसक्यो” उहाँले भन्नुभयो, “चितवन त प्रचण्डलाई मन पराउने मान्छे पनि आउंँछन । मन नपराउने मान्छे पनि एक पटक भए पनि आउंँछन ।”

उहाँले पत्रकारिता सम्बन्धी विधेयक ऐन, खारेज गर्न नदिइने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले कुनै पनि सङ्गठनको महाधिवेशन महत्त्वपूर्ण हुने भन्दै पत्रकारले सबै नागरिकलाई अधिकार सम्पन्न बनाउन, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।

उहाँले नेपाली पत्रकारितामा श्रमको मुद्दा प्रमुख भएको भन्दै श्रमको सम्मान नगर्ने सञ्चारमाध्यम कमजोर हुँदै जाने बताउनुभयो ।

अध्यक्ष पोख्रेलले अहिले सरकार परिवर्तन भए पनि पत्रकारले सरकार परिवर्तन भएको अनुभव गर्न नपाएको उहाँको भनाई थियो ।