६ चैत्र २०८०, मंगलवार

ओलीको साथ छाडेपछि आफू झन शक्तिशाली भएर आए : अध्यक्ष प्रचण्ड

prachanda scaled
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेपछि आफू झन शक्तिशाली भएर आएको बताउनु भएको छ ।

शनिबार चितवनको भरतपुरमा भएको प्रेस सेन्टरको चौथो अधिवेशनको उद्घाटन गर्दै उहाँले प्रतिगमनको साथ छाडेर हिँडेपछि जनता आफ्नो पक्षमा आएको बताउनुभयो । ‘हिजोभन्दा म आज शक्तिशाली भएको छुँ, जनता हामीसँग छन्, ओलीलाई घुँडा टेकाउन सफल भइयो’, उहाँले भन्नुभयो, ‘हाम्रो गठबन्धन बलियो भएको छ । गठबन्धन कदापी टुटदैन, ढुक्क भए हुन्छ ।’

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेकपा हुँदा ओलीभन्दा बाहेक कोही छैन भन्ने भएको थियो, तर अहिले त्यो अवस्था छैन, ओलीजी एक्लो हुनुभएको छ ।’ जनता अब हामीसँग छन्, त्यसैले अब ओलीजी होइन म शक्तिशाली भएको छुँ’, उहाँले भन्नुभयो ।

चितवनमा सम्पन्न भएको एमालेको महाधिवेशनलाई मण्डले शैलीको संज्ञा दिँदै अध्यक्ष प्रचण्डले भन्न्नुभयो, ‘एमालेमा लोकतन्त्र छैन मण्डले शैली छ, एउटाले बोलेपछि अर्कोले बाेल्न पाउँदैन ।’ एमालेको महाधिवेशनलाई उहाँले पञ्चहरुको भेलाको संज्ञा दिनुभयो । एमालेमा वैचारिक बहस हुन छाडेकाले चाँडै पतन हुने उहाँले दाबी गर्नुभयो ।

‘संविधान उल्ट्याउने काम भएको थियो हामीले रोक्न सफल भयौ तर त्यो षडयन्त्र अझै टरिसकेको छैन’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘प्रतिगमनको खतरा टरेको छैन, धेरै चलखेल भइरहेको छ ।’ अध्यक्ष प्रचण्डले यसअघिको सरकारले प्रेस विरोधी ऐन बनाएकाले त्यसलाई खारेज गर्ने विश्वास दिलाउनुभयो । ‘प्रेस जति जिम्मेवार हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुन्छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो । लोकतन्त्र स्थापित गर्ने विषयमा सन्चारकर्मीको भूमिका महत्वपूर्ण रहेकाले दलले बिर्संन नसक्ने उहाँले बताउनुभयो ।