८ बैशाख २०८१, शनिबार

हिन्दू धर्म र राजसंस्थाको मुद्दा सदन र सडकमार्फत राप्रपाले उठाउने

rpp sammelan 59

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा आजदेखि शुरु भएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा राप्रपाका नेताहरुले हिन्दू धर्म र राजसंस्थाको मुद्दालाई सदन र सडक मार्फत उठाउने बताएका छन् । महाधिवेशनलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले परिवर्तनकारी शक्ति र परम्परागत शक्तिहरुबीच सामञ्जस्यता र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले दुबै शक्तिहरु एक अर्कासँग डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । अध्यक्ष थापाले लोकतन्त्रको परिधिभित्र राजसंस्थालाई पनि अटाउने गरी सडक र संसदबाट अभियान थाल्ने उल्लेख गर्नुभयो ।

महाधिवेशनलाई सम्बोधन गर्दै अर्का अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले अध्यक्षको दाबी छोडेको बताउनुभयो । उहाँले सर्वसम्मत् रुपमा नेतृत्व चयनका लागि पनि आग्रह गर्नुभयो ।

यस्तै, यो महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनले पार्टी नेतृत्व असफल भएको आरोप लगाउनुभयो । उहाँले समयको पदचाप बुझ्न आग्रह गर्दै नेतृत्व हस्तान्तरणमा जोड दिनुभयो ।

महाधिवेशनलाई सम्बोधन गर्दै अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेता लोकेन्द्रबहादुर चन्द लगायतले पार्टीको आदर्श र सिद्धान्तलाई जनता माझ लैजानुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।

राप्रपाको महधिवेशन आजबाट १७ गतेसम्म चल्नेछ । आजबाटै बन्दसत्र शुरु भएको छ ।