१६ चैत्र २०८०, शुक्रबार

पोखरामा क्वरेन्टीनमा ज्यान गुमाएका व्यक्तिमा कोरोना नभएको पुष्टि

Dead

कास्की, रुपा गाउँपालिकामा क्वरेन्टीनमा राखेर बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गुमाएका विश्वबन्धु नेपालीमा कोरोना नभएको पुष्टि भएको छ ।

रुपा गाउँपालिका-५ देउरालीमा रहेको सामुदायिक वनको भवनमा स्थापना गरिएको क्वरेन्टीनमा राखिएका नेपालीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरा लगिएकोमा चैत १२ गते मृत्यु भएको थियो ।

मृत्युपश्चात कोराना भए वा नभएको पुष्टि गर्न नमूना परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पताल पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु घिमिरेले जानकारी दिए।

क्वरेन्टीनमा राखिएका व्यक्तिको ज्यान गएपछि कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको थियो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार भारतको हैदरावादबाट आएका ५५ वर्षीय नेपालीको क्वारेन्टीनमा ज्यान गएपछि सर्वसाधारणमा देखिएको मनोवैज्ञानिक त्रास नमुना परीक्षणको रिपोर्टले अन्त्य भएको छ ।

क्वारेन्टीनमा रहेका २३ जनामध्ये दुई जनाको १४ दिन अवधि पूरा गरेर आज घर फर्केको जानकारी दिंदै उहाँले विदेशीबाट गाउँ फर्कने सङ्ख्यामा थप हुने भएपछि रामकोट मावि र ध्रुवतारा क्लबको भवनमा २७ बेड तयार गरिएको छ । रासस