१६ चैत्र २०८०, शुक्रबार

नयाँ भेरियन्ट भित्रिन नदिन यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने सरकारको निर्णय

Gyanendrabdr karki 67

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोनको सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोनको सङ्क्रमण नेपालमा भित्रिन नदिन सजगता अपनाउन सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको बताउनुभयो ।

मन्त्री कार्कीले सरकारले राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना सचिवहरूको सरुवा गर्नुसँगै, रेडियो सञ्चार लाइसेन्स पाँचौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

यसैगरी मन्त्रीपरिषद् बैठकले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सातौँ संशोधन नियमावली २०७८, प्रहरी नवौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता मन्त्री कार्कीले मन्त्रीपरिषद् बैठकले यही मङ्सिर २३ र २४ गते अमेरिकाका राष्ट्रपतिबाट भर्चुअल रूपमा आयोजना हुन लागेको लोकतन्त्र सम्बन्धी शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको बताउनुभयो ।

यसैगरी मन्त्रीपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सुनापति २ रामेछापका टङ्कलाल घिसिङलाई नियुक्त गर्ने र नेपाल बिधुत प्राधिकरण कृष्णनगर चन्द्रौटा प्रशाखा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री कार्कीले बताउनुभयो ।