१३ बैशाख २०८१, बिहीबार

डोल्पामा सधैँ टिकटकै सास्ती

Nepal airlince 768x512 1
फाइल फोटो

फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुग्नुभएकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उहाँ नेपालगन्ज हुँदै काठमाडौँतर्फ लाग्नुभयो ।

दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटेलमा बस्दा गिरीलाई हवाई मार्ग भएर गन्तव्यमा पु¥याउन होटेल सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुप¥यो । दुई दिनपछि गिरीलाई बल्लबल्ल टिकट उपलब्ध गराएपछि नेपालगन्ज पठाएकामा डाँगीले खुसी व्यक्त गर्नुभयो ।

गिरीजस्तै बुटवलका रमेश न्यौपानेले पनि जुफाल विमानस्थलमा टिकटका लागि चार दिन बस्नुप¥यो । डाँगीले भन्नुभयो, “चार दिनपछि मात्र टिकट पाइयो, छिनछिनमा बादल लाग्नुका साथै हिउँ पर्दा उडान अवरुद्ध हुँदा समस्या भयो । चिसो अत्यधिक छ । अनलाइनबाटै टिकट पाउन सके सहज हुन्थ्यो ।”

बिहान ४ बजेदेखि नै विमानस्थलको मूल ढोकामा टिकटका लागि यात्रु लाइन लाग्छन् । टिकटका लागि उनीहरू राति जाग्राम बस्छन् । “उडान धेरै भए टिकट सबैलाई दिनहुन्थ्यो, तर अवस्था त्यस्तो छैन”, समिट एयरका प्रमुख पूर्णजङ्ग शाहीले भन्नुभयो, “हामीसँग जम्मा १७ सिट क्षमता छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउँदा सबैलाई ठाउँ दिन सकिँदैन । सक्दो मिलाउने प्रयासमा हुन्छौँ ।”

शाहीका अनुसार समिटको एउटा जहाजले मात्र डोल्पाका लागि उडान भर्छ । डोल्पाबाट टिकट पाएर बाहिर जाँदा र आउँदा ठुलै युद्ध जितेझैँ हुने यात्रु बताउँछन् । डोल्पामा प्रेस सेन्टरको जिल्ला अधिवेशन सम्पन्न गर्न हिँडेका कर्णाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले नेपालगन्ज र जुफाल विमानस्थलमा यात्रुको चाप देख्दा आफू अचम्ममा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक मार्ग राम्रो भएको भए सायद हवाई मार्गमा यति धेरै चाप हुने थिएन होला । विमानस्थलको अवस्थासमेत राम्रो छैन ।”

डोल्पाका अधिकांश सर्वसाधारण र घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक हवाई मार्गबाटै नेपालगन्ज झर्ने भएकाले यात्रुको चाप बढी हुने गर्दछ । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलमा जाँदा रु नौ हजारभन्दा बढी भाडा लाग्छ भने जुफालबाट नेपालगन्ज आउँदा रु पाँच हजार बढी भाडा तिर्नु पर्छ । जति महँगो भए पनि भनेको बेला टिकट नपाउँदा यात्रुले समस्या भोग्दै आएका छन् । पत्रकार महासङ्घ डोल्पाका सचिव लेखबहादुर बुढा भन्नुहुन्छ, “टिकट हातमा परे पनि ढुक्क हुने अवस्था छैन, सिकिस्त बिरामी आए उनीहरूलाई नै पठाउनुपर्छ ।”

डोल्पामा निजी क्षेत्रका दुई हवाई कम्पनीले उडान भर्दै आएका छन् । समिट र तारा एयरले मात्र डोल्पामा एक÷एक उडान भर्दा यात्रुको चाप बढेको हो । नेपाल एयरलाइन्सले डोल्पामा उडान नभरेको झन्डै दुई वर्ष हुन थालेको छ । यात्रुको चाप हेरेर उडान सङ्ख्या थप्नुपर्ने माग डोल्पावासीको छ । डोल्पाको मेसिनेचौरमा समेत अर्को विमानस्थल छ, तर त्यो सञ्चालनमा आउन सकेको छैन ।

सडक स्तरोन्नतिको ढिलाइले हवाई मार्ग रोजाइ

जाजरकोट–डोल्पा सडक खण्डको ११८ किलोमिटर लम्बाइमध्ये १७ किलोमिटर सडकको स्तरोन्नतिको काम दुई वर्षदेखि सुरु भए पनि अझै पूरा भएको छैन । सडक खण्डको बीचमा रहेका झन्डै १३ पुलमध्ये जाजरकोट खण्डको अधिकांश पुल निर्माणको चरणमा भए पनि डोल्पा खण्डमा निर्माण पूरा नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।

सडक डिभिजन चौरजहारीले सडक र पुल निर्माणको जिम्मा लिएको छ । जाजरकोट खण्डको १७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि आठबीसकोट नगरपालिकाका प्रमुख गोखरबहादुर केसीले लिएको ठेक्काको काम दुई वर्ष बित्दा पनि पूरा भएको छैन । रिम्नाबाट तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख ध्रुव झाले बताउनुभयो । यी खण्डमा अघिल्लो वर्ष नै निर्माण पूरा गर्ने भनिएका पुल यस वर्ष पनि निर्माण हुने अवस्था छैन ।रासस