१४ बैशाख २०८१, शुक्रबार

नेपालको व्यापार घाटा ४१३ अर्ब नाघ्यो

Birgjunj bhansar

आर्थिक वर्ष २०७८/७९ को तेस्रो महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई ४१३ अर्ब ४७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैकका अनुसार चालु आर्थिक वर्षको तेस्रो महिनामा नेपालबाट कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ ।

file photo
वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैँची, जस्तापाता, तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को असोज महिनामा कुल वस्तु आयात भने ६३.७ प्रतिशतले वृद्धि भएको छ ।

यस अवधिमा ४७८ अर्ब ५२ करोड बराबरका विभिन्न वस्तु नेपालमा आयात भएका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८.४ प्रतिशत, ५५.२ प्रतिशत र १२४.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

नेपालबाट भएको निर्याततर्फ कञ्चनपुर, कृष्णनगर, मेची र नेपालगन्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।

आयाततर्फ भने कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ५४ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३३ अर्ब ९२ करोड बराबरको भएको थियो ।